ई–आर्थिक, काठमाडौं । पूर्वी तराई क्षेत्रका करिब १० हजार पाँचसय हेक्टर कृषि योग्य भूमिमा सहज सिंचाइ सेवा पुर्याउने उद्देश्यले इ.स. १९२७ मा निर्माण गरिएको नेपालकै पहिलो चन्द्रनहर सिंचाइ प्रणालीको मर्मतसम्भार तथा पुनर्स्थापना कार्य सम्पन्न भई नेपाल सरकारलाई औचारिक हस्तान्तरण गरिएको छ।
कोशी पम्प चन्द्रनहर सिंचाइ व्यवस्थापन कार्यालय, राजविराजले सप्तकोशी नगरपालिका–१० भगिनी मलेठमा बुधबार आयोजना गरेको “पूर्वी तराई क्षेत्रको सिंचाइ प्रणाली पुनर्स्थापना आयोजना हस्तान्तरण समारोह” मा डिपुटी चिफ अफ मिशन, एम्बेसी अफ जापान टु नेपाल सिन्तो यासुहारुले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नसम्बन्धी औचारिक जानकारी गराए ।
समारोहमा बोल्दै एम्बेसी अफ जापान टु नेपाल सिन्तो यासुहारुले नेपालको विकासमा जापान सरकारको सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। २८ किलोमिटर लामो चन्द्रनहरको मूल नहर लामो समयदेखि जीर्ण बन्दै जाँदा किसानले सिंचाइमा समस्या भोग्दै आएका थिए।

जापानी सहयोग संस्था जेआइसिए (JICA) को दुई अर्ब पाँच करोड १० लाख रुपैयाँ अनुदान सहयोगमा मूल नहरका भत्किएका ३२ स्थानमा सिंचाइ संरचनाको पुनर्निर्माण सम्पन्न गरिएको हो। पुनर्निर्माण कार्य सम्पन्न भएपछि आयोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको राजदूत एसबारुले जानकारी दिए।
उक्त आयोजनाका लागि नेपाल र जापान सरकारबीच सन् २०२२ सेप्टेम्बर ११ मा अनुदान सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण अवधि ३१ जनवरी २०२६ तोकिएको भए पनि जापान सरकार र निर्माण कम्पनी हाजामा आन्दो कर्पोरेसनको सक्रियतामा तीन दिन अगावै निर्माण सम्पन्न भएको परामर्शदाता एनटिसी इन्टरनेशनल कम्पनी लिमिटेडका प्रतिनिधि याकुरा मोसुले बताए।
कार्यक्रमकी प्रमुख अतिथि सचिव सरिता दवाडीले जापान सरकारको सहयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस आयोजनाले पूर्वी तराई क्षेत्रमा कृषि उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
सिंचाइ व्यवस्थापन कार्यालय सप्तरीका प्रमुख बीरेन्द्रकुमार यादवले मूल नहर स्तरोन्नतिपछि पर्याप्त पानी वितरण सहज भएको बताए। साथै उनले करिब सय वर्ष पुराना र जीर्ण अवस्थामा पुगेका शाखा नहरहरूको स्तरोन्नतिका लागि पनि जापान सरकारको थप सहयोगको अपेक्षा गरे।

जलस्रोत तथा ऊर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न समारोहमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक मित्र बराल, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायत वक्ताहरूले मूल नहरको पुनर्निर्माणले कृषि उत्पादन वृद्धि, सिंचाइ सुविधा विस्तार तथा किसानको आयस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजनामा संलग्न सबैप्रति धन्यवाद व्यक्त गरे।
चन्द्रनहर अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म ३२ वटा संरचना मध्ये ८ वटा साइफन, ९ वटा क्रस ड्रेनेज, १५ वटा क्यानल क्रसिङ ब्रिज निर्माण गरिएको थियो ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले ३१ किलोमिटर नहरको सुरू विन्दुदेखि अन्त्यसम्मको ३२ वटा संरचना निर्माण गर्न हाज्मासँग सम्झौता भएको थियो ।

बर्खायाममा बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किएर पानी चुहावट हुँदा सिंचाईमा समस्या हुने गरेको थियो ।
मर्मत समयमा नहुँदा सिँचाइ सुविधाबाट किसान वञ्चित भएका थिए । २०७३ को बाढीले सुब्बाटोल, बुधेवा, महुली, गङ्गाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो ।
जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा गहुँ र धान खेती लगाउने गरेकामा प्रत्येक हिउँद र बर्खायाममा पानी नपाएका कारण किसानले चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउदै आएका थिए ।
चन्द्रनहरको सञ्जाल फराकिलो रहेको भए तापनि विगत ३० वर्षदेखि उक्त नहरमा खेतीको समयमा पानी नआएको कारण ‘स्यालो ट्युबवेल’ तथा आकाशे पानीका भरमा यस क्षेत्रका किसानले खेती गर्दै आएका थिए।
नहर पुनर्निर्माण कार्य सकाएसँगै त्यस क्षेत्रका किसानहरुले सिंचाईको भरपुर लाभ लिन सक्नेछन् ।
