भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ मा इर्खुवा खोलामा ५ मेगावाट क्षमताको सुपर इर्खुवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ।
यो आयोजना शिवालय पावर प्रालिले निर्माण गर्नेछ। कम्पनीले विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि दरखास्त पेश गरेपछि विभागले परियोजनाको प्रारम्भिक वातावरणीय परीक्षण र सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा सार्वजनिक सूचना जारी गरेको छ।
परियोजना रन अफ दि रिभर प्रकृतिको हुनेछ, जसमा खोलाको पानी हेडरेस पाइपमार्फत फर्काइने व्यवस्था गरिएको छ। प्रस्तावित बाँधको कुल लम्बाइ १५ किलोमिटर रहनेछ भने बाँधको उचाइ समुन्द्री सतहबाट २१९० मिटर हुनेछ। इन्टेकको इन्भट लेभल २१८८ मिटर रहनेछ र बाँध किनारमा ११६० मिटर लामो हेडरेस पाइप बनाइनेछ।
विद्युतगृह बाँया किनारमा निर्माण गरिनेछ। आयोजना पूरा भएपछि उत्पादन भएको बिजुली १७ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् प्राधिकरणको सितलपाटी सब–स्टेशनमा जोडेर राष्ट्रिय प्रणालीमा उपलब्ध गराइनेछ।
यो परियोजना भोजपुरमा स्थानीय ऊर्जा स्रोतको सदुपयोग र विद्युत् आपूर्ति विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।