२०८३ साउन ११ सोमबार

राष्ट्रियसभा निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खस्यो, मतदान जारी

ई आर्थिक    आइतबार, माघ ११ २०८२
2.3K
Shares
राष्ट्रियसभा निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खस्यो, मतदान जारी

काठमाडौं।  राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२:४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो।

अहिलेसम्म कोसी प्रदेशमा ३ सय १३, मधेस प्रदेशमा २ सय २७, बागमती प्रदेशमा २ सय १७, गण्डकी प्रदेशमा १ सय ८०, लुम्बिनी प्रदेशमा १ सय ६३, कर्णाली प्रदेशमा १ सय ४५ र सुदूरपश्चिम प्रदेशमा १ सय ८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।

रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस-आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ। कोशी प्रदेशका खस-आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ। कुल २ हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल २ हजार ११ कायम रहेको आयोगले जनाएको छ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij