२०८३ साउन १२ मंगलबार

नेपाल मुद्रा संकलक संघद्वारा प्रकाशित पुराना सिक्काबारे पुस्तकको विमोचन

ई आर्थिक    आइतबार, माघ ११ २०८२
2.7K
Shares
नेपाल मुद्रा संकलक संघद्वारा प्रकाशित पुराना सिक्काबारे पुस्तकको विमोचन

काठमाडौं । ऐतिहासिक सिक्काबारे ‘द इम्पोर्टेन्स अफ दाम इन दी क्वाइनेज अफ नेपाल’ नामक पुस्तक लोकार्पण गरिएको छ। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो। वरिष्ठ मुद्रा संकलक भुवनेशकुमार प्रधानले लेखेको सो पुस्तकको लोकर्पण पुरुषोतमलोचन श्रेष्ठले गरेका हुन्।

कार्यक्रममा नेपाल मुद्रा संकलक संघका उपाध्यक्ष भूमिनन्द कर्माचार्य, नेपाल मुद्रा संकलक संघका संस्थापक अध्यक्ष सागरमान श्रेष्ठले प्रकाशित पुस्तकका बारेमा चर्चा गरेका छन्। नेपाल मुद्रा संघका आजीवन सदस्य तथा नेपाल मुद्रा संकलक संघका सल्लाहकार भुवनेशकुमार प्रधान, संघका अध्यक्ष दिनेशराज मास्केलगायतले पुस्तकको ऐतिहासिकताबारे चर्चा गरेका थिए।

पुस्तकमा नेपालका दुर्लभ र ऐतिहासिक सिक्काहरूको अद्वितीय संग्रह प्रस्तुत गरिएको छ। पुस्तकमा समावेश गरिएका धेरै पैसा यसअघि कहिल्यै अभिलेखमा नआएको कार्यक्रममा बताइयो। पुस्तकमा चाँदी, तामा र सुनबाट बनेका उत्कृष्ट रूपमा संरक्षित सिक्काहरू समेटिएका छन्। यसले नेपालको समृद्ध मुद्रा–इतिहासलाई थप समृद्ध बनाएको जनाइएको छ। साथै मल्ल र शाहकालीन महत्त्वपूर्ण ऐतिहासिक स्मारकहरूको वर्तमान अवस्थाका दृश्य झलक पनि समावेश गरिएको छ।

कृतिमा एक सय १४ वटा सिक्काका विस्तृत चित्र समेटिएका छन्। यसमा ८१ चाँदीका, २३ तामाका र नौ सुनका सिक्का रहेका छन्। साथै मल्लकालीन राजा महेन्द्र मल्लको चाँदीको मोहरको नमुना चित्र पनि प्रस्तुत गरिएको छ।

यो पुस्तक नेपालको समृद्ध सिक्का इतिहासको अध्ययन र संरक्षणमा महत्त्वपूर्ण योगदान मानिएको छ। यसले विद्वान्, संकलक तथा इतिहासप्रेमीका लागि अमूल्य ज्ञान र सन्दर्भ सामग्री प्रदान गर्ने अपेक्षा गरिएको छ। पुस्तक पाँच सय थान मात्रै प्रकाशन गरिएको जनाइएको छ। त्यसकारण पनि यो अमूल्य रहेको जनाइएको छ। पुस्तकको मूल्य दुई हजार पाँच सय तोकिएको छ। पुस्तक प्रकाशक संघको कार्यालयबाट प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij