२०८३ साउन ९ शनिबार

बागलुङमा १४ हजार हेक्टर जमिन बाँझो, कृषि उत्पादन बढाउन सिँचाइ अपरिहार्य

ई आर्थिक    आइतबार, माघ ४ २०८२
1.9K
Shares
बागलुङमा १४ हजार हेक्टर जमिन बाँझो, कृषि उत्पादन बढाउन सिँचाइ अपरिहार्य

बागलुङ : बागलुङ जिल्लामा उपलब्ध ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३० हजार हेक्टरमा मात्र खेती भइरहेको पाइएको छ । बसाइँसराइ र सिँचाइको अभावका कारण १४ हजार हेक्टर जमिन बाँझो रहेको छ भने जम्मा २५ प्रतिशत जमिन मात्र सिँचाइ सुविधायुक्त रहेको तथ्य सार्वजनिक भएको छ ।

कृषि क्षेत्रको रुपान्तरण र व्यवसायिकीकरणसम्बन्धी अन्तरसंवाद कार्यक्रममा सरोकारवालाले उत्पादन वृद्धि गर्न सिँचाइ योजनामा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रतिनिधि ज्ञानेन्द्रराज पन्त र रामचन्द्र गौतमले जिल्लाको खेतीयोग्य जमिनको अवस्था, वर्तमान कृषि उत्पादन र आगामी आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेले किसानलाई हेर्ने राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो । किसान गर्व गर्न लायक पेशामा संलग्न भएको सन्देश प्रवाह गर्न नीति तथा योजना आयोग आवश्यक कार्यक्रम बनाउन तयार रहेको उहाँहरुको भनाइ थियो ।

गण्डकी प्रदेशका कृषि सचिव बासुदेव रेग्मीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उत्पादन लागतको हिसाब नगरी मूल्य निर्धारण गर्ने परिपाटी घातक भएको उल्लेख गर्दै उहाँले किसानलाई व्यवसायिक, निर्यातमुखी उत्पादन र आयात प्रतिस्थापनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कृषि रुपान्तरण तथा व्यवसायिकीकरण सरोकार अभियानको आयोजनामा र कृषि मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा किसानहरुले उत्पादन र बजारको यथार्थ अवस्थाबारे धारणा राखेका थिए । अगुवा किसान नारायण पौडेलले किसानप्रतिको दृष्टिकोण परिवर्तन गर्न र सल्लोभन्दा उत्पादनमूलक बिरुवा रोप्न राज्यलाई सुझाव दिनुभयो । वर, पिपल, चिउरी र बडहर जस्ता बिरुवा रोप्न सके बाँदर आतंक पनि कम हुने उहाँको भनाइ थियो ।

युवा अगुवा सुजन सापकोटाले सिँचाइ विस्तार, बिचौलिया नियन्त्रण र युवालाई कृषिमा आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सहकारीले उत्पादनमा साथ दिनुपर्ने र राज्यले त्यसप्रति चासो देखाउनुपर्ने सिवाईसी सहकारीका कर्जा विभाग प्रमुख शालिकराम पौडेलले बताउनुभयो ।

कार्यक्रममा संघीयतापछि स्थानीय तहमा कृषि प्राविधिकको अभावका कारण उत्पादन, बजारीकरण र व्यवसायिकीकरण प्रभावकारी हुन नसकेको निष्कर्ष निकालिएको थियो । राज्यका तीनै तहका कृषि प्राविधिक, विज्ञ र जनप्रतिनिधिको सहकार्यबाट मात्र कृषि उत्पादन वृद्धि सम्भव हुने सरोकारवालाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij