२०८३ साउन ९ शनिबार

भरतपुर महानगर अत्याधुनिक नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गर्दै

ई आर्थिक    शुक्रबार, माघ २ २०८२
2.4K
Shares
भरतपुर महानगर अत्याधुनिक नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गर्दै

चितवन : जेनजी आन्दोलनपछि कार्यालयको अभावमा असहज रूपमा काम गर्दै आएको भरतपुर महानगरपालिका अब अत्याधुनिक नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ।

महानगरको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार नयाँ भवनबाट शुक्रबारदेखि औपचारिक रूपमा काम सुरु गरिनेछ। माघ १८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि समयअघि नै निर्माण र रङरोकन सम्पन्न भएकाले नयाँ भवनबाट सेवा सञ्चालन गर्न लागिएको हो।

भवन उद्घाटनसँगै महानगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसहितका कार्यकक्ष सञ्चालनमा आउनेछन्। यद्यपि भित्री फर्निचरका लागि टेण्डर प्रक्रिया बाँकी रहेको इन्जिनियर आचार्यले जानकारी दिनुभयो।

“भवनको भित्री डिजाइन र फर्निसिङको काम बाँकी छ। आगलागीपछि साँघुरो स्थानमा बसेर काम गर्न निकै असजिलो भएको थियो,” उहाँले भन्नुभयो, “भवन निर्माण पूरा भइसकेकाले आवश्यक व्यवस्थापन गरेर यहीँबाट सेवा सुरु गर्न लागिएको हो।”

चार तले प्रशासकीय भवनमध्ये दुई तला सम्पन्न भइसकेको र आज बिहान एक समारोहबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने तयारी रहेको महानगरले जनाएको छ।

‘सिंहदरबार’ शैलीमा निर्माण गरिएको यस भवनमा महानगरका सबै विभाग अट्नेछन्। हाल विभिन्न स्थानमा छरिएर सञ्चालन भइरहेका कार्यालयहरू यही भवनमा समेटिनेछन्। ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ लागतमा निर्माण भएको यो भवन संघ, प्रदेश र महानगर—तीनै तहको बजेट सहयोगमा निर्माण गरिएको हो। निर्माण सम्झौता २०७९ साउन १८ गते गरिएको थियो।

क्लासिकल डिजाइनमा निर्माण गरिएको चार तले भवनमा दुईवटा ठूला सभाहल, आठवटा मिटिङ कक्ष र १५८ वटा कार्यकक्ष रहेका छन्। सात कठ्ठा क्षेत्रफलमा फैलिएको भवनमा एक सिङ्गल बेसमेन्ट छ, जसमा ५० वटा गाडी र १५० वटा मोटरसाइकल पार्किङ क्षमता रहेको छ।

भवनमा दुईवटा लिफ्ट, दुबैतर्फ आकस्मिक भर्‍याङ र अपाङ्गता मैत्री संरचना रहेको छ। साथै, नागरिक कक्ष, पुस्तकालय र स्तनपान कक्षसमेत रहने गरी डिजाइन गरिएको छ। सेन्ट्रल एसी जडान गरिएको भवनको भूँइतलामा नगरप्रमुख र पहिलो तलामा उपप्रमुखको कार्यकक्ष निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij