काठमाडौं । नेपाली कांग्रेसले विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि आज निर्वाचन गर्दैछ। निर्वाचन काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको हो।
पार्टीको विधान, नियमावली तथा विशेष केन्द्रीय महाधिवेशनसम्बन्धी कार्यविधि र निर्वाचन निर्देशिका अनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले जनाएको छ। वरिष्ठ अधिवक्ता सीताराम के.सी.को संयोजकत्वमा बसेको निर्वाचन समितिको बैठकले आजका लागि विस्तृत निर्वाचन तालिका सार्वजनिक गरेको हो।
तालिकाअनुसार दिउँसो १२:३० बजे मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु भएको छ। त्यसपछि नामावलीमाथि दाबी–विरोध, अन्तिम नामावली प्रकाशन, उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारीमाथि दाबी–विरोध, मनोनयन फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशनका कार्यक्रम क्रमशः सम्पन्न गरिनेछन्।
निर्वाचन समितिका अनुसार आज राति ९ बजेदेखि मतदान सुरु हुनेछ। मतदान सम्पन्न भएपछि तुरुन्तै मतगणना गरिने र मतगणना समाप्त भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।
निर्वाचन समितिले आवश्यकता परेमा निर्वाचन कार्यक्रम परिमार्जन गर्न सक्ने जनाएको छ। पार्टी नेतृत्व चयनका लागि हुने यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ।

