२०८३ साउन १२ मंगलबार

पाँच महिनामा गोलभेँडाको आयात ९ सय ३२ प्रतिशतले बढ्यो

ई आर्थिक    सोमबार, पौस २८ २०८२
3.7K
Shares
पाँच महिनामा गोलभेँडाको आयात ९ सय ३२ प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा गोलभेँडाको आयात ९ सय ३२ प्रतिशतले बढेको छ। गत साउनदेखि मंसिरसम्ममा ६ करोड ८४ लाख ७४ हजार रुपैयाँबराबरको गोलभेँडा भारतबाट आयात भएको हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५ सय २० किलो गोलभेँडा आयात भएको छ भने गोलभेँडा आयातबाट भन्सारले ८२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा पूर्वी नाकाबाट ३७ लाख ३० हजार रुपैयाँबराबरको १ लाख ३८ हजार ६ सय ५० किलो गोलभेँडा आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयात ९ सय ३२ प्रतिशतले बढेको हो। नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने उनले बताए।

चालु आर्थिक वर्षको पाँच महिनामा समग्र तरकारीको आयात वृद्धि भएको सूचना अधिकारी हुमागाईंले उल्लेख गरे।

उनका अनुसार चालु आर्थिक वर्षमा सोही नाकाबाट १ अर्ब १८ करोड ३ लाख ५६ हजार रुपैयाँबराबरको तरकारी आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ११ करोड ३६ लाख २३ हजार रुपैयाँबराबरको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij