काठमाडौँ : कोशी प्रदेश पर्यटन वर्ष समितिले अन्तरप्रदेश पर्यटन सहकार्यलाई सशक्त बनाउने उद्देश्यसहित तीन प्रदेशमा विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। समितिले गण्डकी प्रदेश, मधेस प्रदेश र चितवनसँग छलफल, सहकार्य तथा औपचारिक सम्झौता गर्ने योजना अघि सारेको हो।
यसै सिलसिलामा आइतबार कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीको नेतृत्वमा रहेको टोली गण्डकी प्रदेशको पोखरा पुगेको छ। त्यहाँ गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका पर्यटन व्यवसायीबीच सहकार्य र दुई पक्षीय सम्झौताबारे अनौपचारिक छलफल भएको छ।
छलफलमा कोशी प्रदेशका मन्त्री पराजुलीसँगै सचिव इन्द्र सापकोटा, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी तथा पर्यटन प्रवर्द्धन वर्ष निर्देशक समितिका सहसंयोजक कृष्णकुमार शाह र भवेश श्रेष्ठसहित गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूको सहभागिता थियो।
छलफलमा कोशी र गण्डकी प्रदेशबीच हवाई तथा यातायात कनेक्टिभिटी विस्तार गर्ने र पर्यटकीय गन्तव्यहरूको संयुक्त प्रवर्द्धन गर्ने विषयमा सम्झौताको तयारी गरिएको छ। प्रस्तावित सम्झौतामा धार्मिक स्थल, पदमार्ग, साहसिक पर्यटन गतिविधि, होमस्टे प्रवर्द्धन, व्यावसायिक साझेदारी, अनुभव आदान–प्रदान तथा एकीकृत पर्यटकीय प्याकेज विकासजस्ता विषय समेटिनेछन्।
पर्यटन वर्षको अवसरमा अघि बढाइएको यो अन्तरप्रदेश सहकार्यले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कोशी प्रदेश पर्यटन वर्ष समितिले आगामी दिनमा मधेस प्रदेश र चितवनसँग पनि यस्तै प्रकृतिका कार्यक्रम तथा सम्झौता अघि बढाउने जनाएको छ।