तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ।
इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले दुई जना पुरुष मृत अवस्थामा भेटिएको जानकारी गराएका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले प्रशोधन केन्द्रको कम्पाउन्ड बाहिर दुई पुरुषको शव फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।
मृतकमध्ये एक जनाको पहिचान शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी करिब ४० वर्षीय नारायण विकका रूपमा खुलेको छ। उनी शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी रहेको प्रहरीले जनाएको छ। विक पछिल्लो एक महिनादेखि प्रशोधन केन्द्रमै बस्दै काम गर्दै आएका थिए भने करिब तीन महिनादेखि सो केन्द्रमा कार्यरत थिए।
अर्का मृतक पुरुषको पहिचान भने हालसम्म खुल्न सकेको छैन। उनी पनि प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका व्यक्ति भएको जनाइएको छ।
दुई पुरुष मृत भेटिएपछि उनीहरूसँगै बस्दै आएकी एक महिला सम्पर्कविहीन भएपछि घटनाप्रति थप शंका उत्पन्न भएको थियो। खोजीका क्रममा शनिबार दिउँसो करिब १२ बजे ती महिला पनि मृत अवस्थामा फेला परेकी हुन्। उनको शव दुई पुरुष भेटिएको स्थानबाट करिब ७ सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार महिला र पहिचान नखुलेका पुरुष दुवै जना बजार क्षेत्रबाट संकलन गरिएको फोहोर छानेर कवाडी संकलन गरी जीवनयापन गर्दै आएका थिए र करिब एक वर्षदेखि सोही टहरामा बस्दै आएका थिए।
शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले तीनै जनाको शव अत्यन्त विभत्स अवस्थामा फेला परेको जानकारी दिनुभयो। उहाँका अनुसार नारायण विकको पेटमा गम्भीर चोट र टाउकोमा प्रहार भएको देखिएको छ भने पहिचान नखुलेका पुरुषको पेटबाट आन्द्रासमेत बाहिर निस्किएको अवस्थामा शव फेला परेको थियो। महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले तीन जनाको हत्या योजनाबद्ध देखिएको बताएका छन्। “एकै स्थानमा दुई पुरुष र केही पर महिला मृत अवस्थामा भेटिनु, प्रयोग भएको हतियार र शवको अवस्थाले घटनाको प्रकृति अत्यन्त गम्भीर देखिन्छ,” उहाँले भन्नुभयो।
घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। हत्यामा संलग्न व्यक्तिको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरीको प्राविधिक टोली र तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटिएर प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीसहितको टोलीले दिनभर घटनास्थलको अनुगमन गरेको प्रहरीले जनाएको छ।