२०८३ साउन १० आइतबार

भद्रपुर विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ दुर्घटना, को–पाइलटसहित ७ जना घाइते

ई आर्थिक    शनिबार, पौस १९ २०८२
2.6K
Shares
भद्रपुर विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ दुर्घटना, को–पाइलटसहित ७ जना घाइते

झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एटीआर–७२ विमान अवतरणका क्रममा रन–वे पार गर्दै ओभर रन हुँदा दुर्घटना भएको छ। दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको विमान राति ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।

विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ र अन्य छ जना यात्रु घाइते भएका छन्। घाइते यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेका छन्।

घाइतेहरूलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्‍याएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको उपचार जारी रहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

उक्त विमान शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जनाको टोली उद्धारमा खटिएको थियो। प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालेर घाइतेलाई अस्पताल पुर्‍याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij