२०८३ साउन १० आइतबार

मुस्ताङमा पर्यटन बढ्यो: २ लाख बढी आन्तरिक र ४८ हजार विदेशी पर्यटक भित्रिए

ई आर्थिक    बुधबार, पौस १६ २०८२
3.1K
Shares
मुस्ताङमा पर्यटन बढ्यो:  २ लाख बढी आन्तरिक र ४८ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ। अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ।

समुद्री सतहबाट ३ हजार ८ सय मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धधर्मालम्बीहरूको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको संख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरू नघटेको उनको भनाइ छ।

अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ। भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन्।

मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ। चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरूलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ। समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ।

चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ। यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन्। विशेष गरी भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ।

हुम्लाबाट मुक्तिनाथ आएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताए। मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू यहाँ आएको बताए। साथै जाजरकोटबाट आएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताए।

पछिल्लो समय नेपाल-चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन्।  रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij