काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व गर्ने उम्मेदवारहरुको टुङ्गो लाग्दै गएको छ । पार्टीको नेतृत्व लिनका लागि ईश्वर पोख्रेल समूहले पनि आफ्नो पदाधिकारी प्यानल तयार पारेको छ। अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्नेछन् ।
महासचिव पदमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ भने उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने निश्चित भएको छ।
उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भइसकेको छ। त्यस्तै, उपमहासचिवको उम्मेदवार सूचीमा बैजनाथ चौधरीको पनि नाम समावेश गरेको हो ।
सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेल लगायतका व्यक्तिहरूको नाम करिब टुंगो लागेको छ भने पोखरेल समूहले ओलीको लिष्टमा नपरेका नेताहरुलाई समेट्न उपाध्यक्ष,उपमहासचिव र केही सचिव पदमा उम्मेदवार बाँकी राखेको छ ।
ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ । उपमहासचिव पदमा योगेश भट्टाराईले आफू कसैको प्यानलबाट नभई व्यक्तिगत रुपमा उपमहासचिव पदमा प्रतिस्पर्धा गर्न लागेको बताए ।