काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राख्दै सरकारलाई दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सुझाव दिनुभएको छ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचन प्रभावित नहुने गरी सबै काम सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभएको हो। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उहाँले निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले अघिल्ला निर्वाचनभन्दा अझ बढी तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको थियो।
उक्त अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेलसमक्ष परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा देखिएका तथा भविष्यमा आइपर्न सक्ने सुरक्षा चुनौतीहरूको समुचित मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।