नवलपुर : नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वनमा एकैदिन नौवटा मृग मृत फेला परेका छन्। मरेका मृगमध्ये एकवटा बच्चा समेत रहेको जनाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले किसानले तोरी खेतमा प्रयोग गरेको विषादी सेवनका कारण मृग मरेको हुन सक्ने देखिएको छ। मृत मृगहरूको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादीयुक्त बाली खाएर मृत्यु भएको आशंका गरिएको हो।
थापाका अनुसार मृग आहारा श्रृंखलाको मुख्य प्रजातिमध्ये एक भएकाले ठूलो संख्यामा एकैपटक मृत फेला पर्नु गम्भीर विषय बनेको छ। कारण पत्ता लगाउन सबै नमूना संकलन गरी पोस्टमार्टम गरिएको र विषादी परीक्षणका लागि नमूना काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। रिपोर्ट आउन चार–पाँच दिन लाग्ने बताइएको छ।
मातृभूमि मध्यवर्ती सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै कारण मृगहरू मरेको हुन सक्ने बताए। केही समयअघि नवलपुर–रजहर क्षेत्रमा किसानले काउलीमा अत्यधिक विषादी प्रयोग गरेको भेटिएकाले तोरीमा पनि त्यस्तै भएको शंका गरिएको छ।
उनका अनुसार निकुञ्ज क्षेत्रसँग जोडिएको तारबार भत्किएको ठाउँबाट मृग बारीतिर पस्ने गरेका छन्। बाघको डरले मृग गैँडाको साथमा हिँड्ने भएकाले गैँडा आउने खेततिरै मृग पनि जाँदै आएको अधिकारीले बताए। तीन वर्षअघि पनि यही क्षेत्रमा १५ वटा मृग मरेका थिए।
स्थानीय किसानमध्ये धेरैले बाली जोगाउने नाममा अनियन्त्रित रूपमा विषादी प्रयोग गर्ने गरेकाले भेटेरिनरी तथा कृषि कार्यालयले पर्याप्त सचेतना नपु¥याएको स्थानीयहरूको गुनासो छ।