२०८३ साउन १२ मंगलबार

सौर्य ऊर्जाका परियोजनामा बढ्यो आकर्षण,९७ आयोजनाले लिए सर्वेक्षण अनुमति

ई आर्थिक    शुक्रबार, मंसिर १९ २०८२
2.2K
Shares
सौर्य ऊर्जाका परियोजनामा बढ्यो आकर्षण,९७ आयोजनाले लिए सर्वेक्षण अनुमति

काठमाडौं । पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ।

जलविद्युत् आयोजनाबाट वर्षाको समयमा बढी बिजुली उत्पादन हुने र हिउँदको समयमा कम उत्पादन हुने भएकाले सौर्य ऊर्जामा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागमा हालसम्म दुई हजार १०४ मेगावाट क्षमताका कुल ९७ आयोजनाले सर्वेक्षण अनुमति लिएका छन्।

सरकारले ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको तथा सौर्य ऊर्जाबाट उत्पादन हुने बिजुलीको पनि उचित मूल्य प्रदान गर्ने नीतिगत निर्णय गरेकाले यस क्षेत्रमा लगानी गर्न चाहनेको सङ्ख्यामा बढोत्तरी भएको हो। चालु आवको हालसम्म छवटा सौर्य ऊर्जा परियोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका छन्।

विभागका अनुसार गैरआवासीय नेपालीको लगानी रहने एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १०० मेगावाट क्षमताको रोल्पा सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ। त्यस्तै, सोही कम्पनीले नै १५० मेगावाट क्षमताको अर्घाखाँची सौर्य विद्युत् आयोजना निर्माणका लागि सर्वेक्षण अनुमति लिएको छ।

सिजी इर्नगो प्रालिले २५ मेगावाट क्षमताको पाल्पा डम्बक सौर्य विद्युत् आयोजना निर्माणका लागि सर्वेक्षणको अनुमति लिएको छ।

यस्तै, १० मेगावाट क्षमताका विराट बर्जु सौर्य विद्युत् आयोजना, डाँगीहाट सौर्य विद्युत् आयोजना र बाडगंगा सौर्य विद्युत् आयोजनाले पनि सर्वेक्षण अनुमति लिएको विभागले जनाएको छ। विभागले हालसम्म १२ सौर्य विद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ। ती आयोजनाको कुल क्षमता ८४ मेगावाट बराबर छ।

यस्तै, विभिन्न पाँच आयोजनाले सर्वेक्षणका लागि अनुमति माग्दै आवेदन दिएका छन्। ती आयोजनाको क्षमता १० मेगावाटबराबर छन्। विभागका अनुसार १५ मेगावाट क्षमताका तीन आयोजनाले विद्युत् उत्पादन अनुमतिका लागि आवेदन दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij