२०८३ साउन १२ मंगलबार

समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारीसहित नयाँ कार्यालय खुल्यो

ई आर्थिक    मंगलबार, मंसिर १६ २०८२
798
Shares
समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारीसहित नयाँ कार्यालय खुल्यो

काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक तयारी जुटाउन निर्वाचन अधिकृतको कार्यालय  काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोग, बहादुर भवनमा स्थापना गरिएको हो ।

एक विशेष समारोहबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय राम प्रसाद भण्डारीले उक्त कार्यालयको उद्घाटन गर्नुभयो। आयोगको २०८२ मंसिर १२ गतेको निर्णयअनुसार समानुपातिकतर्फका निर्वाचन अधिकृतका रूपमा तोकिएका आयोगका सचिव महादेव पन्थले आजैदेखि सो जिम्मेवारी सम्हाल्नुभएको छ। यसैगरी, सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईलाई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी खटिने आयोगले जनायो ।

उद्घाटन समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सञ्चालन हुने भएकाले सरोकारवालाहरूलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। साथै, कानुन बमोजिम जातीय, भौगोलिक, लैङ्गिक लगायत समूह आधारमा प्रतिनिधि चयन प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन राष्ट्रिय तथ्यांक कार्यालयको सहयोग रहने बताए ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र माननीय सगुन शम्शेर ज. ब. रा., तथा आयोगका सचिव महादेव पन्थलगायतको उपस्थिति रहेको थियो।

यसै दिन अर्थमन्त्री माननीय रामेश्वरप्रसाद खनाल र कानूनमन्त्री माननीय अनिल कुमार सिन्हा निर्वाचन आयोगमा उपस्थित भई आगामी निर्वाचनको पूर्वतयारी, आवश्यक सहयोग र सरकारी व्यवस्थाबारे आयोगका पदाधिकारीसँग छलफल भएको थियो । छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै, कानून तथा न्याय मन्त्री सिन्हाले आवश्यक कानूनी सहयोग प्रदान गर्ने तथा निर्वाचनमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग बढाउन आयोगलाई अनुरोध गरे ।

सरकारी उच्चस्तरीय छलफलबाट आसन्न प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij