सर्लाही । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा जिल्लामा साढे ११ हजारभन्दा बढी रुख काट्ने आदेश जारी भएको छ। लामो प्रतीक्षापछि डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सबै प्रक्रिया पूरा भएसँगै रुख कटान अनुमति मिलेको हो।
कमला–ढल्केबर–पथलैया सडक योजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने तीन जिल्लामा जम्मा ११ हजार ५७७ रुख काटिने भएका छन्। आयोजनाका सूचना अधिकारी राजकिशोर सिंहका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ६ हजार २७, सर्लाहीमा ३ हजार ६७४ र धनुषामा १ हजार ८७६ रुख कटान हुने छ। सर्लाही र धनुषामा काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक काम बाँकी रहेकाले २–४ दिनपछि मात्र कटान सुरु हुनेछ।
मुख्य रूपमा सालका रुख सबैभन्दा धेरै काटिने जनाइएको छ। प्राथमिकता प्राप्त राष्ट्रिय आयोजना भएकाले मन्त्रीपरिषद्बाटै निर्णय आवश्यक परे पनि प्रक्रिया ढिलो हुँदा राजमार्ग विस्तार प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। अनुमति मिल्दै ठेकेदारसँग सम्झौता गरी रुख कटान तीव्र बनाइएको छ।
काटिएका रुख ठेकेदारले घाटगद्दी गरेर सम्बन्धित डिभिजन वन कार्यालयलाई बुझाउने छन्। वन कार्यालयले काठ लिलामी प्रक्रिया अघि बढाउनेछ।
तर रुख कटानको काम तीव्र भए पनि बिजुलीका पोल सार्ने र खानेपानी पाइप व्यवस्थापन चुनौती बनेको आयोजना प्रमुख राजेशकुमार दास बताउँछन्। नेपाल विद्युत् प्राधिकरणलाई सकेसम्म छिटो व्यवस्थापन गर्न ताकेता गरिए पनि पोल सारिने ढिलाइले निर्माण कार्य प्रभावित भइरहेको छ।
कमला पुलदेखि पथलैयासम्मको १३० किमी सडक विस्तार अन्तर्गत तीनै जिल्लामा विगत वर्षदेखि काम जारी छ। रौतहट र बारा खण्ड समेटेर पश्चिमी खण्ड हेर्ने कार्यालय चन्द्रनिगाहपुरमा स्थापना गरिएको छ।
पूर्वपश्चिम राजमार्गलाई बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर तथा अन्य क्षेत्रमा ४ लेनसहित १८ मिटर चौडा बनाइनेछ। सडक विस्तारका लागि विश्व बैंकले १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ।