२०८३ साउन १० आइतबार

गोलभेँडा–काउलीको भाउ आकासिदा किसानमा खुशियाली, उपभोक्ता मारमा

ई आर्थिक    शुक्रबार, मंसिर ५ २०८२
2.8K
Shares
गोलभेँडा–काउलीको भाउ आकासिदा किसानमा खुशियाली, उपभोक्ता मारमा

सर्लाही । अत्यधिक उत्पादन हुने मौसममा बारीमै कुहिन बाध्य हुने गोलभेँडा र काउलीले अहिले भने सर्लाहीका किसानलाई राम्रै आम्दानी दिलाइरहेका छन्। स्थानीय तहमा थोरै मात्रामा उत्पादन हुन थालेपछि दुवै तरकारीको मूल्य आकाशिएको हो।

सर्लाही गोलभेँडा उत्पादनका लागि धेरै चर्चित जिल्ला हो। हिजोआज स्थानीय जातका भर्खरै आउने गोलभेँडाको उत्पादन सीमित हुँदै गएपछि किसानले एक क्रेटको २ हजार रुपैयाँसम्म, अर्थात् प्रतिकेजी ८० रुपैयाँमा बिक्री गर्न पाएका छन्। यही गोलभेँडा पुस–माघमा पाँच रुपैयाँ प्रतिकेजीमा बेच्न समेत कठिन हुने गरेको किसानहरूको अनुभव छ।

लालबन्दी नगरपालिका–८ का किसान सोमबहादुर मिक्चनका अनुसार अहिले गोलभेँडा फलाउँदा राम्रो आय हुने देखिएको छ। यद्यपि मध्य असोज र मध्य कात्तिकमा परेको भारी वर्षाका कारण धेरै किसानको बाली नोक्सान पुगेको थियो। पानीबाट जोगिन सफल भएका किसानले भने हाल उच्च मूल्य पाएका छन्। हरिवन–३ सासापुरका श्यामसुन्दर महतोका अनुसार थोरै किसानले मात्र उत्पादन गर्न सकेकाले भाउ बढेको हो।

लालबन्दी थोक तरकारी बजारमा किसानले सानो परिमाणमा ल्याएको गोलभेँडा किन्न व्यापारीबीच समेत हानाथाप हुने गरेको छ। बजारका व्यवस्थापक शम्भुप्रसाद घिमिरेका अनुसार स्थानीय उत्पादन कम भएकाले जिलेभरिकै माग पूरा गर्न बाहिरी जिल्लाबाट समेत गोलभेँडा आयात गर्नुपरेको छ।

गोलभेँडासँगै काउलीको मूल्य पनि निकै माथि पुगेको छ। गत वर्ष प्रतिकेजी २–३ रुपैयाँमा पाइने काउली अहिले प्रतिकेजी १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सुरुमा थोरै किसानले मात्र काउली खेती गरेकाले यसको मूल्य आकासिएको बताइन्छ।

सर्लाही उत्तरका ईश्वरपुर, लालबन्दी, हरिवन क्षेत्रमा गोलभेँडाको र चन्द्रनगर, ब्रह्मपुरी, कविलासी, बरहथवा, चक्रघट्टा क्षेत्रमा काउलीको व्यावसायिक खेती हुने गर्छ। यतिबेला जिल्लाका बजारमा अन्य हरियो तरकारी पनि महँगो छ। थोक बजारमै सिमी १४०, बोडी १५०, भिन्डी ९० र भान्टा ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। खुद्रामा भने झनै महँगो पर्छ।

उच्च मुल्यका कारण किसानको आम्दानी बढे पनि उपभोक्ता भने मूल्यवृद्धिले मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij