बारा । बाराको सिमरामा बुधबारको झडपपछि बिहीबार पनि तनाव कायमै छ। बिहीबार बिहानदेखि ‘जेनजी’ समूहका युवाहरू सडकमा उत्रिएपछि स्थिति बिग्रँदै गएपछि दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
सिमरा चोक आसपास प्रदर्शन चर्किएपछि सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि सामान्य बल प्रयोग गरेका थिए। बुधबारका प्रदर्शनकारीमाथि भएको कुटपिटका दोषीमाथि कारबाहीको मागसहित आज पनि प्रदर्शन जारी राखिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेको आदेश अनुसार निर्दिष्ट क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन र सभा निषेध गरिएको छ। कर्फ्यू पथलैया चोक दक्षिणदेखि जितपुर–लल्का पुलसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरपर ५०० मिटरको दायरामा लागू हुनेछ।
सिमरा चोकमा अहिले पनि प्रदर्शन जारी छ भने केहीबेरअघि प्रदर्शनकारी र प्रहरीबीच पुनः झडप भएको प्रशासनले जनाएको छ।
