ई-आर्थिक, काठमाडौं । निर्वाचन आयोगले आइतबार जानकारी दिएको छ कि हालसम्म १२२ राजनीतिक दल दर्ता छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस अवधिमा सातवटा दल खारेज भए पनि सातवटा नयाँ दल दर्ता भएका कारण संख्या स्थिर छ।
भट्टराईले हाल २८ दल दर्ता प्रक्रियामा रहेको बताए। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज नयाँ दल दर्ता गर्ने अन्तिम दिन भए पनि प्रक्रिया नियमित जारी रहने उनले बताए।
उनका अनुसार, आयोगले दल दर्ता र मतदाता नामावली संकलन दुवै काम गर्दैछ। मतदाता नामावली संकलन आगामी मंसिर ५ गतेसम्म जारी रहनेछ।
शनिबारसम्म दुई लाख ८५ हजारले सनाखत गरे भने दुई लाखले राष्ट्रिय परिचय पत्रमार्फत आवेदन दिएका छन्।