२०८३ साउन ९ शनिबार

कँडेलको कालिज फार्म : रहरबाट ५० लाखको व्यवसाय

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८२
2.2K
Shares
कँडेलको कालिज फार्म : रहरबाट ५० लाखको व्यवसाय

वागलुङ : घर नजिकैको जंगलमा फलामे तार बेरेर बनाएको कालिज फार्म। त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफ्रने र उड्ने गर्छन्। एकै ठाउँमा सयौंका संख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ। बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो।

कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाले। सुरुमा उनलाई व्यावसायिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन। तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उनको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो। रु २४ हजारमा चार वटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसकेका छन्। दश रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराखेका छन्।

कालिज व्यवसाय राम्रो हुँदै गएपछि उनले चल्लासमेत आफैं उत्पादन गर्न थालेका छन्। वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दंग छन्। बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गरेका कँडेल स्वास्थ्यकर्मी हुन्। बिहान बेलुका कालिजको रेखदेख गर्ने उनी दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन्। सानैदेखि चराचुरुंगी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हेर्ने आउनेको संख्या ठुलो छ।

सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित भएका छन्। अहिले उनको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन्। एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताए। दसैंतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उनले जानकारी दिए। सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउँछन्। प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ।

‘यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिंदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो’, उनले भने, ‘पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु।’

केही दिनअगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिंदा रु तीन लाख नोक्सानी व्यहोरेको उनले सुनाए। रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन्। कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिएका छन्। यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताए। पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ। सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैं चल्ला उत्पादन गर्ने उनी बताउँछन्। उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उनले सुनाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij