२०८३ साउन १० आइतबार

निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आह्वान

ई आर्थिक    सोमबार, कार्तिक १० २०८२
3.5K
Shares
निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबै नेपालीलाई आह्वान गरेकी छन्। छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमार्फत उनले हालको राजनीतिक परिस्थितिलाई सामान्यीकरण गर्दै लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण ढंगले राखी आम जनताको मन जितेर निर्वाचनमार्फत अनुमोदन गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि हो।” उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सहज बनाउँदै जिम्मेवार राजनीतिक अभ्यासतर्फ अघि बढ्न सबैलाई आग्रह गरिन्।

छठ पर्वका प्रसङ्गमा प्रधानमन्त्रीले सत्य, अहिंसा र प्रकृतिप्रेममा आधारित यस पर्वले तराई, पहाड र हिमाल जोड्ने सांस्कृतिक सेतुको रूपमा कार्य गर्दै आएको उल्लेख गरिन्। उनले पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारामा हुने उत्सवहरूले नेपाली समाजमा सद्भाव, एकता र खुसी फैलाउने विश्वास व्यक्त गरिन्।

कार्कीले भनिन्, “छठीसहित हाम्रा चाडपर्वहरूले सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानकका रूपमा काम गरेका छन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र मेलमिलापको आवश्यकता छ।”

प्रधानमन्त्रीले अन्त्यमा छठीदेवीको कृपाले देशभर शान्ति, सद्भाव, एकता र समृद्धि कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सबैलाई आगामी निर्वाचनमा सहभागिता जनाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आह्वान गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij