विराटनगर : मोरङको बुढीगङ्गास्थित आरती स्ट्रिप्स प्रालिले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी (टिएमटी) उत्पादन पुनः सुरु गर्ने तयारी गरेको छ। भारतीय लगानीमा सञ्चालित यो उद्योगले सन् २०२६ को सुरुवातदेखि नै नयाँ टिएमटी डन्डी बजारमा ल्याउने योजना बनाएको जनाएको छ।
आरती स्ट्रिप्सले आगामी १८ महिनाभित्र अत्याधुनिक मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीका सञ्चालक विशाल गुप्ताका अनुसार, उद्योगले हाल बिलेटमा आधारित उत्पादनबाट पुनः उत्पादन सुरु गर्नेछ भने दीर्घकालमा आफ्नै स्पन्ज मेल्टिङ प्लान्ट स्थापनाको तयारी भइरहेको छ।
तीन वर्षअघि सरकारी नीतिमा आएको परिवर्तन र सुनसरी–मोरङ औद्योगिक करिडोरमा एकै पटक तीनवटा नयाँ मेल्टिङ युनिटसहितका स्टिल उद्योग सञ्चालनमा आएपछि आरतीले आफ्नो टिएमटी डन्डी उत्पादन स्थगित गरेको थियो। त्यतिबेला मेल्टिङ प्लान्ट र बिलेटमा आधारित उद्योगबीच मूल्यमा ठूलो अन्तर परेपछि प्रतिस्पर्धा गर्न नसक्ने अवस्था बनेको थियो।
तर, पछिल्लो बजेटले बिलेटमा आधारित उद्योगलाई पनि प्रतिस्पर्धी बनाउने नीति ल्याएपछि आरती स्ट्रिप्सले फेरि उत्पादन पुनःसञ्चालनको निर्णय गरेको हो। गुप्ताका अनुसार, आरतीले इटालीबाट आयात गरिएको अत्याधुनिक टिएमटी उत्पादन मेसिनमार्फत डन्डी उत्पादन गर्नेछ र सन् २०२७ सम्ममा मेल्टिङ युनिट पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।
सन् २००२ देखि कर्कटपाता उत्पादन गर्दै आएको आरती स्ट्रिप्सले हाल सिआर सिट र स्क्वायर पाइप पनि उत्पादन गर्दै आएको छ। उद्योगले गत आर्थिक वर्षमा १८ अर्ब ५० करोड रुपैयाँको कारोबार गरेको थियो, जसमा ९ अर्ब ९४ करोड रुपैयाँको निर्यात र ८ अर्ब ४७ करोड रुपैयाँको आन्तरिक बिक्री रहेको कम्पनीले जनाएको छ।