२०८३ साउन ९ शनिबार

पर्वत कृषिमा आत्मनिर्भरता बन्दै, ६५ करोडभन्दा बढीको कारोबार

ई आर्थिक    शुक्रबार, कार्तिक ७ २०८२
3.3K
Shares
पर्वत कृषिमा आत्मनिर्भरता बन्दै, ६५ करोडभन्दा बढीको कारोबार

पर्वत ।  कृषिमा आत्मनिर्भर बन्ने दिशातर्फ अघि बढिरहेको पर्वत जिल्लाले पछिल्लो आर्थिक वर्षमा ६५ करोड रुपैयाँभन्दा बढीको कृषिजन्य कारोबार गरेको छ। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार जिल्लाका किसानहरूले आलु, धान, अलैँची, मकै, तरकारी तथा सुन्तलाजस्ता प्रमुख बालीनालीको बिक्रीबाट आर्थिक वर्ष २०८१/८२ मा करिब ६५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेका हुन्।

उनका अनुसार जिल्लामा सबैभन्दा बढी कारोबार हुने बाली आलु र सुन्तला हुन्। त्यसपछि धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची, मकै र काँक्रोको बीउले पनि उल्लेखनीय आय दिएको छ।

गत वर्ष जिल्लाभर खाद्यान्न बालीको उत्पादन ७२ हजार ९५० मेट्रिक टन पुगेको थियो। त्यसमा मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन, जौ ५४ मेट्रिक टन, फापर १०० मेट्रिक टन र दलहन ५२७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ।

तेलहन बाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको थियो। सुन्तलासहित अन्य फलफूलको उत्पादन कुल १३ हजार ३०७ मेट्रिक टन पुगेको छ।

कृषिजगत्को आम्दानीतर्फ हेर्दा आलुबाट सात करोड ७३ लाख, बीउ तथा तरकारीबालीबाट ११ करोड, सुन्तलाबाट २४ करोड ८४ लाख, मौरीपालन र महबाट चार करोड ५० लाख, र अलैँचीबाट एक करोड ८१ लाख रुपैयाँ किसानले आर्जन गरेका छन्।

कृषकहरूलाई उत्साहित गर्न केन्द्रले विभिन्न योजनाअन्तर्गत ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै चार करोड रुपैयाँभन्दा बढीको अनुदान वितरण भएको प्रमुख अधिकारीले जानकारी दिए।

कृषि उपकरण वितरणमा पनि उल्लेखनीय प्रगति भएको छ। गत वर्ष २०३ वटा मिनि–पावर टिलर, २५ वटा कुटानी–पिसानी मिल, ४१ वटा स्प्रेयर, पाँच वटा ब्रसकटर, पाँच हजार ९३५ मिटर सिँचाइ पाइप, ७०० वटा हिलट्यांक र ३६७ मिटर लामो कुलो मर्मतका लागि सहयोग प्रदान गरिएको छ।

गण्डकी प्रदेशअन्तर्गतको कृषि ज्ञान केन्द्र पर्वतमा चालु आर्थिक वर्षका लागि पाँच करोड ६४ लाख रुपैयाँको बजेट विनियोजन भएको छ। त्यसैगरी संघीय ससर्ततर्फबाट थप २१ लाख ४३ हजार रुपैयाँ केन्द्रलाई उपलब्ध गराइएको छ।

स्थानीय उत्पादनमा बृद्धि भएसँगै पर्वत अहिले कृषिजन्य वस्तुमा क्रमशः आत्मनिर्भर बन्दै गएको कृषि कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij