२०८३ साउन १० आइतबार

मुस्ताङ भन्सारबाट तीन अर्ब राजस्व संकलन

ई आर्थिक    बुधबार, कार्तिक ५ २०८२
4.2K
Shares
मुस्ताङ भन्सारबाट  तीन अर्ब  राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले तीन अर्ब रुपैयाँ एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ। गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ।

चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ। हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

उनका अनुसार हालसम्म ६५७ चीनबाट कोरलानाका हुँदै आयात गरिएका मालसामान बाहक कन्टेनरको जाँचपास भएको हो। यसैगरी, नेपालतर्फ सात वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताए।

कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ। नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ।

यसैगरी, हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका एक हजार ४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले उल्लेख गरे।

यहाँको नेपाल–चीन उत्तरी कोरला नाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याएको थियो। यसैबीच, भन्सार विभागले यहाँको कोरला नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ। विभागले नाकालाई पूर्ण रुपमा व्यापारिक आयातनिर्यातलाई सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको थियो।

नाका पूर्ण रुपमा सञ्चालनमा आए पनि बाह्रै महिना यहाँको नाकाबाट आयातनिर्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने भन्सार प्रमुख खड्काले बताए। कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले ढुवानीका साधन चिसोले इन्धन जमेर स्टार्ड नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाइ छ।

कोरला नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकका अवस्थामा सुधार र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औँल्याए।

यसअघि यहाँको कोरला नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरिएको थियो। त्यसबेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकका लागि नाका बाह्रै महिना खुला भएको सन्देश दिएको थियो। कोरलाबाट नेचुङ–लिजीसम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिक चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij