ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसँग सम्बन्धित एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा २५ किलोग्राम कायम गर्ने निर्णय गरेको छ। यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाइन्थ्यो।
विदेशी विनिमय व्यवस्थापन विभागबाट शुक्रबार जारी परिपत्रअनुसार, इजाजतपत्रप्राप्त निकायमार्फत हुने विप्रेषणको दैनिक सीमा पनि २० लाखबाट बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ।
संशोधित व्यवस्था अनुसार, नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाहरूले वैध रूपमा प्राप्त गरेका रकम विप्रेषण कम्पनीमार्फत बेनेफिसियरीको खातामा जम्मा गर्न सक्नेछन्।
यस्ता कारोबार गर्दा ग्राहकको परिचय खुल्ने आवश्यक कागजात संकलन गर्नुपर्ने व्यवस्था यथावत् राखिएको छ। साथै, विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा तयार गरी प्रत्येक महिना ७ दिनभित्र सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले यो निर्णय विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को अधिकार प्रयोग गरी गरेको हो।
