ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगरेका दुई मनिचेञ्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले बिहीबार सार्वजनिक गरेको सूचनामा अनुसार युनियन करेन्सी एक्सचेन्ज प्रा.लि. र के.टी.एम. ओम मनी एक्सचेन्ज प्रा.लि. को इजाजतपत्र खारेज गरिएको हो।
राष्ट्र बैंकका अनुसार, यी कम्पनीहरूले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९(३) बमोजिम तोकिएको तीन महिनाको अवधिभित्र नवीकरणको लागि निवेदन नदिएको पाइएपछि इजाजतपत्र रद्द गरिएको हो।
इजाजतपत्र रद्द भएसँगै, यी कम्पनीहरूलाई अब मनिचेञ्जर कारोबार गर्न अनुमति नहुने स्पष्ट पारिएको छ। राष्ट्र बैंकले सर्वसाधारण तथा सरोकारवालाहरूलाई उक्त कम्पनीहरूसँग विदेशी विनिमय कारोबार नगर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले मनिचेञ्जर कारोबारमा पारदर्शिता, अनुशासन र वित्तीय प्रणालीको स्थायित्व कायम राख्नका लागि इजाजतपत्र नवीकरण, निरीक्षण र नियमन प्रक्रिया कडाइका साथ लागू गरिरहेको जनाएको छ।
