२०८३ साउन १२ मंगलबार

निर्वाचन तयारीबारे प्रधानमन्त्री र आयोगबीच छलफल, तोकिएको मितिमा निर्वाचन गराउन सरकारको प्रतिबद्धता

ई आर्थिक    बुधबार, असोज २२ २०८२
1.8K
Shares
निर्वाचन तयारीबारे प्रधानमन्त्री र आयोगबीच छलफल, तोकिएको मितिमा निर्वाचन गराउन  सरकारको प्रतिबद्धता

ई-आर्थिक, काठमाडौं ।  आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि आज प्रधानमन्त्री सुशिला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

छलफलमा प्रधानमन्त्री कार्कीले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने कार्य सरकारको उच्च प्राथमिकता भएको स्पष्ट पार्दै निर्वाचनका सबै तयारीमा सरोकारवाला निकायहरूसँग समन्वय गर्न आयोगलाई आग्रह गर्नुभयो। उहाँले निर्वाचन सम्पन्नका लागि सरकारबाट आवश्यक वातावरण निर्माण गरिने विश्वास समेत दिलाउनुभयो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारीले आयोगले आवश्यक स्रोत, साधन र जनशक्तिको प्रारम्भिक आकलन गरिसकेको जानकारी दिनुभयो। उहाँले आयोगले निर्वाचनको पूर्वतयारीका लागि कार्यतालिका स्वीकृत गरिसकेको र त्यसअनुसार योजनाबद्ध रूपमा कार्य अघि बढिरहेको बताउनुभयो।

छलफलमा निर्वाचन आयुक्त सगुन शम्शेर जबरा (ज.ब.रा.) ले निर्वाचनका क्रममा सम्भावित सुरक्षा चुनौतीहरू र त्यसका समाधानका उपायहरूबारे आयोगको धारणा प्रस्तुत गर्नुभयो। साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकको मतदान अधिकारसम्बन्धी विषयमा पनि छलफल भएको आयोगले जनाएको छ।

उक्त छलफलमा अर्थ, गृह, कानून तथा संघीय मामिला मन्त्रालयका मन्त्रीहरू  रामेश्वरप्रसाद खनाल, ओमप्रकाश अर्याल र अनिल कुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू तथा आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, र सचिव महादेव पन्थ लगायतको उपस्थिति रहेको थियो।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले उक्त छलफल सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij