२०८३ साउन १२ मंगलबार

 बैंकिङ प्रणालीमा निक्षेप वृद्धि, लगानी भने सुस्त

ई आर्थिक    बुधबार, असोज १५ २०८२
3.4K
Shares
 बैंकिङ प्रणालीमा निक्षेप वृद्धि, लगानी भने सुस्त

ई-आर्थिक, काठमाडौं । चाडपर्वको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उच्च विन्दुमा पुगेको छ। राष्ट्र बैंकका अनुसार हाल कुल निक्षेप ७४ खर्ब ७ अर्ब पुगेको छ, जसमध्ये वाणिज्य बैंकको ६६ खर्ब ५७ अर्ब र अन्य वित्तीय संस्थाको ७ खर्ब ५१ अर्ब निक्षेप छ।

बैंकहरूले हालसम्म ५६ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका छन्। तर, निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७५.२१ प्रतिशतमा झरेको छ। नियमअनुसार बैंकहरूले ९० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्छन्।

नेपाल बैंकर्स संघका अनुसार दशैं-तिहार नजिकिँदै गर्दा रेमिट्यान्स आप्रवाह बढेकाले निक्षेपमा तीव्र वृद्धि भएको हो। चाडपर्वमा सामान्य अवस्थामा भन्दा करिब ५०% बढी रेमिट्यान्स भित्रिने गरेको छ।

कर्जा माग कमजोर हुँदा बैंकहरूले ६ खर्ब ७६ अर्ब राष्ट्र बैंकका अल्पकालीन उपकरणहरूमा राखेका छन्। ब्याजदर न्यून विन्दुमा भए पनि राजनीतिक अस्थिरता र लगानीको वातावरण अभावका कारण कर्जा प्रवाहमा सुस्ती आएको हो।

जेनजी आन्दोलनबाट प्रभावित क्षेत्रलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण र सहुलियतपूर्ण कर्जाको व्यवस्था ल्याएको छ। पुनर्तालिकीकरण पुस मसान्तभित्र गरिसक्नुपर्नेछ।

नयाँ नीतिअनुसार महिला रोजगारी, निर्यातमुखी उद्योग, र आन्दोलनबाट प्रभावित प्रतिष्ठानलाई न्यून ब्याजदरमा कर्जा दिइनेछ। सरकारले यस्तो कर्जामा २% ब्याज अनुदान समेत दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij