२०८३ साउन ९ शनिबार

महिला नेतृत्वको सहकारीमार्फत ३५० खसीबोका बिक्री

ई आर्थिक    बुधबार, असोज १५ २०८२
3.7K
Shares
महिला नेतृत्वको सहकारीमार्फत ३५० खसीबोका बिक्री

नवलपरासी ।  नवलपरासीको हुप्सेकोट गाउँपालिका– ४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।

लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो ।

गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाकी व्यवस्थापक सुशीला परियारले जानकारी दिइन् । ‘असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौँ । हालसम्म ३५० वटा खसीबोका बिक्री गरेका छौँ’, उनले भनिन्, ‘जिउँदो खसी प्रतिकिलो सरदर ५७० रुपैयाँसम्ममा बिक्री गरिएको छ।’

संस्थामार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्वलाई लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो ।

‘गत वर्षको दशैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब दुई करोड ५० लाखको कारोबार भएको थियो’, परियारले भनिन्, ‘यस वर्ष भने पहिलेजति बिक्री भएन । दशैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौँ ।’

गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्‍याउनका लागि सहकारीले विगत ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ ।

कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादनअनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ ।

यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन् । पहिले व्यापारीले भने अनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वर्षदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ । ‘सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ’, उनले भनिन् ।

यहाँ शेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ । ठूला व्यापारीदेखि स्थानीयसमेत खसीबोका लिन सहकारीमा आउने गरेका छन् ।

हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौं, पोखरालगायत सहरमा निर्यात गर्ने गरिएको छ । यहाँका बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमानले भन्दा बढी आम्दानी गर्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij