काठमाडौं । उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महशुल २१ दिनभित्र बुझाउन नेपाल विद्युत प्राधिकरणले समय दिएको छ ।
नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) को वितरण तथा ग्राहक सेवा निर्देशनालयले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत लिएका तर २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता महशुल अझै नतिरेका उपभोक्ताहरूलाई आगामी २१ कार्यदिनभित्र भुक्तानी गर्न अन्तिम समय दिएको हो ।
प्राधिकरणले यसअघि २०८२ सालको बैशाख २६ र ३० गते दुईवटा सूचना प्रकाशित गर्दै प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिने म्याद खुला गरेको थियो। तर, प्राधिकरण सञ्चालक समितिको २०८२ असोज १० गतेको निर्णयअनुसार उक्त निर्णय तथा पुनरावलोकन प्रक्रिया अब बदर गरिएको छ।
प्राधिकरणका अनुसार, बाँकी महशुल भुक्तानीका लागि अब कुनै छुट वा पुनरावलोकनको सम्भावना छैन। गोरखापत्रमा मिति २०८१ असार ३१, असोज २४ र कात्तिक २९ मा प्रकाशित सूचनाहरू अनुसार अबको अन्तिम समयसीमा २१ कार्यदिन (२०७२ कार्तिक १७) तोकिएको छ।
महशुल बुझाउन चाहने उपभोक्ताहरूका लागि प्राधिकरणले अधिकतम २८ महिनासम्मको मासिक किस्ताबन्दी सुविधा पनि उपलब्ध गराउने जनाएको छ।
निर्धारित समयसीमा भित्र बक्यौता महशुल नबुझाएमा, नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।
प्राधिकरणले सम्बन्धित सबै उपभोक्ताहरूलाई यस अन्तिम अवसरलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।
