ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ। सोमबार सुनको दर प्रतितोला ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रूपैयाँ तोकिएको छ, जुन नेपाली बजारको अहिलेसम्मकै सर्वाधिक मूल्य हो।
यसअघि भदौ ३१ गते प्रतितोला २ लाख १७ हजार एक सय रूपैयाँ पुगेको सुनको मूल्य आइतबार पनि सोही दरमा कारोबार भएको थियो। तर, सोमबारको ७ सय रूपैयाँको वृद्धिसँगै सुनले नयाँ कीर्तिमान कायम गरेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्ध देखिएको छ। महासंघका अनुसार आइतबार प्रतितोला २ हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ३० रूपैयाँले बढेर प्रतितोला २ हजार ६ सय ५० रूपैयाँ पुगेको छ।
भौगोलिक तथा वैश्विक आर्थिक उतारचढाव, माग र आपूर्तिमा आएको परिवर्तन, अन्तर्राष्ट्रिय बजारको मूल्य र डलरको भाउले सुनचाँदीको मूल्यमा असर पार्ने गरेको व्यवसायीहरू बताउँछन्। हाल विश्व बजारमा सुनको मूल्य उच्च रहँदा त्यसको सीधा प्रभाव नेपाली बजारमा समेत परेको देखिन्छ।