ई-आर्थिक, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेका प्रदर्शनका कारण निजी क्षेत्रमा पुगेको क्षतिको पुनःस्थापना तथा लगानीमैत्री वातावरण बनाउन ‘इण्टिग्रेटेड बिजनेस रिकभरी प्लान’ ल्याइने घोषणा गरेका छन्।
अर्थ मन्त्रालयमा सोमबार आयोजित छलफलमा मन्त्री खनालले निजी क्षेत्रको समस्या सरकारको पनि समस्या भएको स्पष्ट गर्दै क्षति पूर्ति, पुनर्निर्माण, कर र कर्जामा सहुलियतलगायतका विषयमा सरकारले पहल गर्ने बताए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, अटो डिलर्स, भाटभटेनी, चौधरी समूह लगायतका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले उद्योग सुरक्षाका लागि सरकारसँग ठोस कदम चाल्न आग्रह गरेका थिए।
अर्थमन्त्री खनालले अटो सेक्टर, सुपरमार्केट र मिडिया हाउसजस्ता प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिसकेको जानकारी दिँदै, विशेष राहत कोष गठन भइसकेको बताए।
साथै, अर्थसचिव घनश्याम उपाध्यायले दसैँबाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक तथा भन्सार खुला राख्ने तयारी भइरहेको जानकारी दिए।