आयुर्वेद औषधिले रोगीलाई रोग लाग्नै नदिनुको साथै रोगलाई जरैबाट उपचार गर्दछ । आयुर्वेद औषधि मात्र हैन यो त जीवन जिउने विज्ञान पनि हो । आयुर्वेदले मानिसको आयु बृद्धि गर्दछ र रोग लाग्नबाट बचाउँछ ।
जगत भट्टराई
राष्ट्रिय आयुर्वेद एसोसिएसन (रान)
नेपालमा आयुर्वेद औषधि उद्योगी तथा व्यवसायीहरु कति छन् ?
नेपालमा आयुर्वेद औषधि उत्पादक संघ अन्तर्गत ४२ वटा उद्योग छन् । औषधि व्यवस्था विभागमा १०० भन्दा बढी दर्ता छन् । औषधि व्यवस्था विभागभन्दा अगाडि नै नेपालमा आयुर्वेद औषधिका कम्पनी थिए । आयुर्वेद औषधिहरु प्रयोग गरिन्थ्यो । यसरी हेर्दा नेपालमा झन्डै ७ हजारको संख्यामा आयुर्वेद औषधि व्यवसायीहरु सक्रिय छन् । राज्यको बेवास्ताले गर्दा लाखौ आयुर्वेद जनशक्ती उत्पादन हुनुपर्नेमा हाल हजारमा सिमित हुनु परेको छ ।
आयुर्वेद औषधीहरुको समग्र अवस्था कस्तो छ त ?
आयुर्वेद व्यवसायीप्रति सरकारको वेवास्ता, ब्यबसायी लुट प्रबृतिको स्थानीय तह देखि प्रदेश संघसम्मको कर प्रणाली, आयुर्वेद औषधिको उत्पादन ब्यबसाय र बजारिकरण सम्बन्धी नियम कानुनको अभाब, आयुर्वेदको नाममा हुने अबैधानिक अनलाइन ठगी लुट धन्दाको रोकथाममा सरकारको उदासिनताका कारण नेपालमा संस्थागत दर्ता गरी सेवा दिइरहेको आयुर्वेद व्यवसायीहरु अत्यन्तै मारमा छन् ।
त्यसैगरी बढदो महङ्गी, बढदो घर भाडा, बैंक वित्तीय संस्थाको चर्को ब्याज जस्ता कारणले उत्पादक र व्यवसायीहरु माथि उठ्न सकेको छैनन । यसले गर्दा समग्र आयुर्वेद औषधि उत्पादक कम्पनी र आयुर्वेद औषधि व्यवसायीहरु मारमा परेका छन । केही औषधि उत्पादकहरु घाटामा औषधि उत्पादन गरिरहेका छन् धेरैजसो व्यवसायीहरु बडो दुःखका साथ ब्यबसाय सञ्चालन गरिरहेका छन् ।
आयुर्वेद औषधि उद्योगी तथा व्यवसायीहरुका समस्या के कस्ता छन् ?
आयुर्वेद औषधि उत्पादक र व्यवसायीहरुका समस्याहरु धेरै छन् । पहिलो त सरकारले आयुर्वेद क्षेत्रलाई ध्यान नै दिंदैन । नेपालको मौलिक चिकित्सा पद्दती आयुर्वेद नै हो तर यस विषयमा सरकार अलिकती पनि गम्भीर छैन । सरकारले सञ्चालन गरेको सिंहदरबार बैद्यखाना नै औषधि उत्पादन गर्न नसकेर बर्षौदेखि थला परेको उदाहरण हामी बिचमा छ । वास्तबमा नेपालमा हाल आयुर्वेद औषधि उत्पादक र औषधि व्यवसायीहरु धरासायी छन । यो विषयमा सरकार बेलैमा गम्भीर बन्नु पर्दछ ।
उद्योगी व्यवसायीका समस्या समाधान गर्न तथा प्रर्बद्धन गर्न सरकारले के कस्तो सहयोग गरेको छ ?
उद्योगको विकास र प्रर्बद्धन गर्न सरकारले कुनै पनि त्यस्तो योजना तथा कार्यक्रम ल्याएको छैन । केही छैन सरकारको उधोगी व्यवसायीहरुको उत्पादन र व्यापार प्रबद्र्धनको निम्ति कुनै पनि योजना छैन न अनुदान नै छ । चर्को कर प्रणाली, झन्झटिलो नीति नियम, भ्रष्ट जनशक्ति, राजनैतिक खिचातानीको चपेटामा आयुर्वेद क्षेत्र पनि चुर्लुम्मै डुबेको छ । सरकार भएका औषधी उद्योगी र व्यवसायीहरुको हितका लागि रति पनि जिम्मेवार बन्न सकेको छैन ।

आयुर्वेद औषधि उद्योग व्यवसायको प्रबद्र्धनमा सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
आयुर्वेद औषधि उद्योगी व्यवसायीहरुको प्रर्बद्धनमा सरकार गम्भीर बन्नु पर्दछ । हाल आयुर्वेद औषधि उद्योगी र व्यवसायीहरुलाई अनलाइनमा आउने आयुर्वेद औषधिजन्य उत्पादनको अबैधानिक व्यापारले उधोगी व्यवसायीलाई धेरै मार परेको छ । त्यस्तै जनस्वास्थ्यमा आयुर्वेदको नाममा गम्भीर खेलवाड र ठगी चलेको छ जस्ले गर्दा आयुर्वेद क्षेत्रकै बदनाम भएको छ । सरकार यस्ता प्रकृतिका अनलाइन व्यापारमा चाडो रोकथाम गर्नु पर्नेछ । त्यस्तै अव्यवस्थित उद्योगी व्यवसायीहरु लुट कर प्रणालीमा सुधार गरी आयुर्वेद औषधिमा कर छुटको ब्यबस्था लागू गर्नु पर्नेछ । नेपालकै गौरब नेपालको धन हरियो बन भन्ने वाक्यांशलाई सिरोधार्य गर्दै जडिबुटी खेती जडिबुटी औषधि उद्योग र आयुर्वेद औषधि व्यवसायीहरुका लागि बिना धितो सहुलियत कर्जा उपलब्ध गराउनु पर्दछ । आयुर्वेद वैध पढाइ हुन छोडेको छ । बैध उत्पादनको लागि सीटीइभीटीबाट पुनः तालिम सुरु गर्नु पर्दछ । समग्रमा बिश्वकै पहिलो चिकित्सा पद्दती आयुर्वेद चिकित्सा पद्दतीलाई नेपालको राष्ट्रिय चिकित्सा पद्दती घोषणा गरी नेपाललाई आयुर्वेदको माध्यमबाट समृद्ध बनाउन सरकारले ध्यान दिनु पर्दछ ।
नेपालमा कति प्रकारका आयुर्वेद औषधि उत्पादन हुन्छन् ?
नेपालमा धेरै प्रकारका आयुर्वेद औषधि उत्पादन गर्न सकिन्छ । तथापी हाल नेपाली कम्पनीले बजारमा झन्डै ३००० देखि ४५०० प्रकारका औषधि उपलब्ध गराएका छन् ।
आयुर्वेद औषधि उत्पादनको लागि कच्चा नेपालमा स्रोत र कच्चा पदार्थको र अवस्था कस्तो छ ?
आयुर्वेद औषधि उत्पादकको लागि नेपालमा कच्चा पदार्थ हरुको श्रोत माया लाग्दो छ नेपाली औषधि उद्योगीहरु परनिर्भरतामा उद्योग चलाउन बाध्य छन् । नेपाललाई परनिर्भरताको दिशातिर धकेल्ने अभियान त २०४६ सालपछिका पार्टी सरकार र तिनका अगुवाले नै थालिसकेका हुन । जुनबेला भृकुटी कागज उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, कृषि औजार केन्द्र आदि उद्योग क्रमशः बन्द गरिएका थिए ।
एलोपेथिक होस् वा आयुर्वेदिक होस्, औषधिका कच्चा पदार्थ वनस्पति र जडीबुटी नै हुन् । नेपाल त्यसका लागि महत्वपूर्ण भण्डार पनि हो । हिमालदेखि तराईसम्मको भू–भागमा पाइने यस्ता असंख्य वनस्पति र जडीबुटी भने नेपालका सन्दर्भमा आफ्नो नाभीमा रहेको सुवाससँग अनभिज्ञ रहेर अन्यत्र भौतारिएर हिँड्ने कस्तुरी मृग जस्तो भएका छौँ हामी । यहाँका जडीबुटी भारतमा पुग्छन् र त्यहाँ उत्पादन भएका डाबर, वैद्यनाथ आदि आयुर्वेदिक औषधि कम्पनीका उत्पादनले यहाँको बजार अधिनमा लिन्छन् । देशमै जडिबुटी प्रशोधन केन्द्र नहुनु एक जिल्लाबाट अर्को जिल्लामा जडिबुटी ओसार पसार गर्न झन्झटिलो कानुनी दायरा र परनिर्भरताले गर्दा कच्चा पदार्थ होस वा प्याकेजिङ्ग लेभलिङ्ग बजारिकरण सबै कुरामा हामीलाई गाह्रो भएको छ ।
नेपालमा आयुर्वेद औषधिको विश्वसनीयता र आकर्षण कस्तो छ ?
नेपालमा आयुर्वेद औषधिको विश्वनियता एवम् आकर्षण पनि त्यति सन्तोषजनक छैन । गुणस्तरीय कच्चा पदार्थको अभाब उद्योगी व्यवसायीहरुको दैनिक खस्कदो व्यापार सरकारको आयुर्वेद माथिको सौतेनी व्यबहारले गर्दा नेपाली उद्योगी ब्यबसायीहरु मारमा छन । नेपाल सरकारको स्वास्थ्य मन्त्रालय यहाँका आयुर्वेदसम्बन्धी विज्ञ, आयुर्वेदिक चिकित्सक र सम्बन्धित शिक्षण संस्थासँग सम्बन्धित अगुवाले समयमै सामूहिक सोचाइ र कार्यगत तत्परता नदेखाए नेपालको आयुर्वेदिक विकासको ढोका सधैँका लागि बन्द हुने सम्भावना बढ्नेछ । मरणासन्न सिंहदरबार वैद्यखानाले त्यसकै सङ्केत दिइरहेको छ ।
पछिल्लो समयमा आयुर्वेद औषधिप्रतिको आकर्षण र विश्वसनीयतालाई अझै बढाउन कसले के–के गर्नुपर्ला ?
पहिलो कुरा त सरकारले आयुर्वेद क्षेत्र को विकास र विस्तारमा ध्यान पुर्याउनु पर्छ । उद्योगीहरुले गुणस्तरिय औषधि उत्पादन गर्नुपर्छ । स्वास्थ्यकर्मी हरुले रोगी को रोगको निदान गरेर आयुर्वेद औषधिहरु प्रेस्क्राइब गर्नुपर्छ । रोगीले पनि आफ्नो दिन चर्या र खानपानमा ध्यान दिनुपर्छ । समग्रमा आयुर्वेदसँग सम्बन्धित सरकार उद्योगी स्वास्थ्यकर्मी ब्यबसायीहरु आफ्नो पेशाप्रति गम्भीर बन्न जरुरी छ ।

आयुर्वेद औषधि कतिको उपयोगी सावित भएको छ ?
आयुर्वेद औषधि उपयोगी साबित भएको छ । प्रायः बिरामीहरु धेरै ठाउँ उपचार गरेर लास्टमा आयुर्वेदमा आइपुग्दा आयुर्वेद औषधिबाट बहुसंख्यक बिरामीलाई फाइदा भएको महसुस गर्नु हुन्छ ।
एलोपेथिक र आयुर्वेदिक औषधिमा के फरक छ ?
एलोपेथिक औषधिले तत्काल रोगीलाई बचाउछ भने आयुर्वेद औषधिले रोगीलाई रोग लाग्नै नदिनुको साथै रोगलाई जरैबाट उपचार गर्दछ । आयुर्वेद औषधि मात्र हैन यो त जीवन जिउने बिज्ञान पनि हो । आयुर्वेदले मानिसको आयु बृद्धि गर्दछ र रोग लाग्नबाट बचाउँछ ।
एलोपेथिक औषधिले ठिक नपारेका दीर्घ रोगहरु समेत आयुर्वेद औषधिले निको पार्छ भनिन्छ, सुनिन्छ । के साच्चिकै ठिक पार्छ त ?
हो साच्चिकै एलोपेथिक औषधिले निको नभएका बिरामीहरुलाई आयुर्वेदबाट ठिक बनाउन सकिन्छ ठिक भएका उदाहरण प्रसस्त छन ।
आयुर्वेद औषधिका खास विशेषताहरु के–के हुन्छन् ?
आयुर्वेद औषधिका धेरै खास बिशेषताहरु छन । सिद्धान्तिक हिसाबले आयुर्वेदका ‘स्वस्थ्य व्यक्तिको स्वस्थ्य रक्षा गर्नु’ र ‘रोगी व्यक्तिको रोग निर्मूल गर्नु ।’ प्रमुख दुई उद्देश्यहरू छन् ।
नेपालमा आयुर्वेद औषधिका प्रयोगकर्ता कति प्रतिशत होलान् ?
नेपालमा आयुर्वेद औषधि प्रयोगकर्ता कति छन भनेर एकिन लेखा जोखा छैन तर हाल ५ देखि १०% मात्र आयुर्वेद औषधि प्रयोगकर्त रहेको अनुमान गर्न सकिन्छ ।
यस्तो आयुर्वेद केन्द्रमार्फत उपचार गर्ने संस्थाहरु देशभर कति रहेका छन् ? यो क्षेत्रमा प्रतिस्पर्धा छ की छैन ?
आयुर्वेद पद्दतिबाट उपचार नेपालका सबै जिल्लामा उपलब्ध छ । सरकारले नै जिल्ला आयुर्वेदको रुपमा ७७ वटै जिल्लामा सेवा दिइरहेको छ । त्यस्तै आयुर्वेद औषधालय नागरिक आरोग्य सेवा केन्द्र गरी झन्डै १००० को संख्यामा सरकारद्वारा नै आयुर्वेद स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । निजी आयुर्वेद औषधालय, हस्पिटल, क्लिनिकहरु पनि सबै जिल्लामा बिस्तारित नै छन । हाल यो क्षेत्रमा खासै प्रतिस्पर्धा छैन एकै नाम गरेका औषधि उत्पादन गर्ने उद्योगी बिच प्रतिस्पर्धा भए पनि ब्यबसायीहरु बिच तेस्तो खास प्रतिस्पर्धा देखिदैन ।
सेवा र व्यवसायिक दृष्टिकोणले आयुर्वेद औषधि उद्योग र व्यवसायीको संभावना कत्तिको छ ? यो क्षेत्रमा लाग्ने उद्योगी र व्यवसायीहरुको भविष्य कस्तो देख्नुहुन्छ ?
स्वास्थ्यको सम्बन्धमा आयुर्वेद ईतिहास देखि वर्तमानसम्म र वर्तमान देखि भबिष्यसम्म नै दिगो र भरपर्दो ब्यबसाय हो । आयुर्वेद बिनाको स्वास्थ्य कल्पना पनि गर्न गाह्रो छ । दैनिक जिवनमा आयुर्वेद सबै ब्यक्तिहरुले जानी नजानी प्रयोग गरी नै रहेका हुन्छन । आयुर्वेदको बारेमा अझ धेरै ज्ञान, सीप, शिक्षा र सेवामा गुणस्तरियता प्रदान गर्दै जादा आयुर्वेद क्षेत्रमा लाग्ने नेपालीहरुको भबिष्य उज्जल छ । आयुर्वेदको माध्यमबाट देशकै बिकास र आर्थिक समृद्धि गर्न सकिन्छ । समग्रमा आयुर्वेद सेवा वा उत्पादनमा लाग्ने उद्योगीहरुको भबिष्य राम्रो छ ।
तपाई कति भयो यो क्षेत्रमा लाग्नु भएको ? तपाईको संस्था ‘स्वस्थ जीवन आयुर्बेदिक औषधि घर’को बारेमा बताइदिनुस्न ?
म यो क्षेत्रमा लागेको १७÷१८ बर्ष भयो । सुरु सुरुमा आयुर्बेद औषधि व्यवसायीहरु छिटपुट मात्र थिए । केही वर्ष पछि यस्को उत्पादन बजारिकरणमा विकास हुन थाल्यो । बैद्य, कबिराज चिकित्सकहरु उत्पादन हुन थाले पछि हाल आयुर्वेद नेपाल भरी नै फैलिन सफल भएको छ । मेरो संस्था प्रति म सन्तुष्ट नै छु यही सस्थाबाट यहि क्षेत्रबाट नेपालमै आफ्नो परिवार माता पिता सगै रहेर गुजारा चलाउन पाउँदा खुसी लाग्छ ।
आयुर्वेदको क्षेत्रमा तपाईका भावि योजना तथा लक्ष्यहरु के कस्ता रहेका छन् ?
यस क्षेत्रमा मेरा भाबी योजना भनेको आयुर्वेद क्षेत्रलाइ नेपाल भरी फैल्याउने नै हो । त्यसैगरी नेपालको आयुर्वेदलाई विश्वभर चिनाउने मेरो यो क्षेत्रको लक्ष्य र योजना रहेको छ ।
आयुर्वेद क्षेत्रको न्यायको लागि यस क्षेत्रमा रहेका हरेक जनशक्तिको न्यायको लागि म लडि नै रहन्छु । साथै आफ्नै संस्थामार्फत जनसेवा गर्नु पाउँदा खुसी लाग्छ । धेरै ठाउँ उपचार गर्दा गर्दा थाकेका रोगी बिरामीहरुको सेवा गर्ने आयुर्वेद उपचार मार्फत रोगिलाइ ठिक बनाउने नै मेरो उद्देश्य रहनेछ ।
