ई-आर्थिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन मिति तोकिएपछि रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा तय गरिएको उपनिर्वाचन रद्द गरिएको छ।
यसअघि निर्वाचन आयोगले भदौ १७ गते (सोमबार) रूपन्देही-३ मा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो। तर, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत प्रतिनिधि सभा विघटन गरी मंसिर २१ गते नयाँ निर्वाचन मिति तोकिएको कारण सो उपनिर्वाचनका सबै बाँकी कार्यक्रमहरू आयोगले रद्द गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगको २०८२ साल भदौ ३० गते बसेको बैठकले औपचारिक रूपमा उक्त निर्णय गरेको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचनका कार्यक्रमहरू रद्द गरिएको छ।”
अब आयोगको ध्यान नयाँ प्रतिनिधि सभा निर्वाचनको तयारीमा केन्द्रित हुने जनाइएको छ। राष्ट्रपतिको निर्णयअनुसार आगामी मंसिर २१ गते (२०८२ साल) प्रतिनिधि सभा निर्वाचन तोकिएको छ।