२०८३ साउन १० आइतबार

वीरगञ्ज भन्सार ठप्प, अर्बौं राजस्व संकलनमा घाटा

ई आर्थिक    शुक्रबार, भाद्र २७ २०८२
2.5K
Shares
वीरगञ्ज भन्सार ठप्प, अर्बौं राजस्व संकलनमा घाटा

ई-आर्थिक, वीरगञ्ज ।  ‘जेनजी’ समूहको प्रदर्शनका कारण देशकै सबैभन्दा ठूलो राजस्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालय दुई दिन ठप्प हुँदा अर्बौं रुपैयाँ राजस्व नोक्सानी भएको छ। मंगलबार र बुधबार कार्यालयको सेवा लगभग पूर्ण रूपमा बन्द हुँदा दैनिक औसत ७२ करोड रुपैयाँका दरले राजस्व संकलन प्रभावित भएको हो।

भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार बिहीबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, ग्यास र औषधिजन्य सामग्रीको मात्रै जाँचपास प्रक्रिया सुरु गरिएको छ। “बिहीबार मात्र करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ,” उनले जानकारी दिए।

शुक्रबारदेखि भने बारा र पर्सा जिल्लामा जाने औद्योगिक वस्तुहरूको जाँचपास सुरु गरिएको छ। उनले भन्सार परिसरमा रहेका मालबाहक गाडी सुरक्षित रूपमा राखिएको र स्थानीय प्रशासनले सुरक्षा प्रत्याभूति गरेपछि अन्य सामग्री पनि पठाउन तयार रहेको बताए।

 लक्ष्यभन्दा वर्षे संकलनमा उल्लेखनीय गिरावट

२०८१/८२ मा वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य दिइएको थियो। तर कार्यालयले ८०.३५ प्रतिशत मात्र अर्थात् १ खर्ब ७५ अर्ब ९३ करोड रुपैयाँ संकलन गर्न सकेको थियो। अघिल्लो वर्ष पनि लक्ष्यअनुसार संकलन हुन सकेको थिएन।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले समेत गत वर्ष ६० अर्बको लक्ष्यभित्र ४९ अर्ब ८२ करोड रुपैयाँ मात्र संकलन गरेको छ। अहिले यी दुवै भन्सार कार्यालय गाभिएर सेवा दिइरहेका छन्।

चालु आवको साउन महिनामा गाभिएको कार्यालयले १८ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८७.६८ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij