२०८३ साउन ९ शनिबार

भोजपुरका किसानको आम्दानीको स्रोत अर्गानिक आलु

ई आर्थिक    शुक्रबार, भाद्र २७ २०८२
3.4K
Shares
भोजपुरका किसानको आम्दानीको स्रोत अर्गानिक आलु

ई-आर्थिक, भोजपुर ।  यहाँ उत्पादन हुने अर्गानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ। विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ।

व्यापारीहरुले आलु खरिद गर्न गाडी नै लिएर किसानका घरसम्म पुग्ने गरेका छन्। गाउँघरमा सडकको पहुँच विस्तारसँगै अर्गानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ-५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताए।

‘विगतमा यहाँ उत्पादन हुने अर्गानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ।’

यस वर्ष गाउँघरबाट प्रतिकेजी ४० देखि ४५ रूपैयाँसम्म बिक्री हुँदै आएको किसानहरुको भनाइ छ। लेकाली भेगमा उत्पादन भएको अर्गानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले बताए।

‘मझौले र चोलन्ती गाउँमा अर्गानिक आलु उत्पादन हुन्छ’, उनले भने, ‘गाउँका सबैले आलुखेती गरिरहेका छौँ। उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ। हाम्रो क्षेत्रको आलु अर्गानिक रहेकाले बजारमा राम्रो माग छ।’

मझौले गाउँका एक किसानले ७ सय केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्दै आएका छन्। यहाँका ८५ बढी घरपरिवारले व्यावसायिकरुपमा आलुखेती गर्दै आएको उनको भनाइ छ। यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङ्गेलगायत जातका आलु उत्पादन हुने गरेको छ।

कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गतवर्ष ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो। यहाँ तीन हजार २७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij