ई-आर्थिक, काठमाडौं । भाद्र २३ र २४ गते देशका विभिन्न भागमा विशेष गरी जेनजी पुस्ताको नेतृत्वमा भएको प्रदर्शनपछि उत्पन्न परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोगले सक्रिय अनुगमन जारी राखेको जनाएको छ। आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवार, घाइतेहरू र समग्र मानव अधिकारको अवस्थाबारे निरन्तर अध्ययन तथा अवलोकन गरिरहेको जानकारी दिएको छ।
विज्ञप्तिमा आयोगले विशेषतः निषेधाज्ञा जारी गरिएका स्थानहरूमा अनुगमनका क्रममा मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूको आवतजावतमा सहजीकरण गर्न सबै निकायसँग आग्रह गरेको छ।
आयोगले पछिल्ला दिनमा भएका हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोडप्रति गहिरो चिन्ता व्यक्त गर्दै अब यस्ता घटनाहरू नदोहोरिनेमा विश्वास व्यक्त गरेको छ। साथै, आयोगले कुनै पनि पक्षबाट हिंसात्मक गतिविधिमा नउत्रन र नगर्न प्रेरित पनि नगर्न चेतावनी दिएको छ।
“देश विषम अवस्थामा छ, सबै पक्ष संयमित बन्न जरुरी छ,” प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। आयोगले राजनीतिक अन्यौलताको समाधान लोकतान्त्रिक विधिबाट नै खोजिनु पर्ने स्पष्ट गर्दै लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको दोहोर्याएको छ।
स्थिति सामान्य पार्न राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक तथा सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै आयोगले सबै सम्बद्ध पक्षलाई आ–आफ्नो जिम्मेवारी निभाउन पनि अपिल गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगले हालको संकट समाधानका लागि आवश्यक भूमिका निर्वाह गर्न तत्पर रहेको जनाएको छ।