२०८३ साउन १० आइतबार

‘मान्छेमा ‘ब्याक टु नेचर’को अवरणा विकास भइरहेकाले आयुर्वेदिक औषधिको खपत बढ्दै गएको छ’

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
3.6K
Shares
‘मान्छेमा ‘ब्याक टु नेचर’को अवरणा विकास भइरहेकाले आयुर्वेदिक औषधिको खपत बढ्दै गएको छ’

सुमन प्रसाद पाण्डे
अध्यक्ष, नेपाल आयुर्वेद औषधि उत्पादक संघ

नेपालमा आयुर्वेदिक औषधिको अवस्था कस्तो छ ?

आयुर्वेदिक औषधिको कुरा गर्दा अलिकति यसको इतिहासको बारेमा जान्नुपर्ने हुन्छ । नेपालमा संस्थागतरुपमा आयुर्वेद औषधिको उत्पादन सिंहदरबार वैद्यखानाको स्थापनादेखि भएको हो । त्यो समयमा राणाहरुले आफ्नो र आफ्नो परिवारलाई चाहिने औषधिको लागि स्थापना गरेका थिए । पछि यसलाई सरकारीकरण गरी उद्योगको रुपमा अगाडि बढाइयो । त्यो समयदेखि अहिलेको समयसम्म आइपुग्दा विभिन्न उतार चढावहरु आए । जब आधुनिक चिकित्सा पद्दतिको विकास भयो, त्यसपछि भने आयुर्वेदिक औषधिहरु छायाँमा पर्दै गएको पाइन्छ । आधुनिक चिकित्सा पद्दतिले यतिछिटो जनमानसमा प्रभाव जमायो कि उनीहरुले प्रायः सबै रोगको उपचारको लागि एलोपेथिकलाई नै अपनाउन थाले । यसो किन भयो भने एलोपेथिको माध्यमबाट उपचार गर्दा रोग छिटो निको हुन्छ । तर यसले ‘साइड इफेक्ट’ गर्छ । तर होमोपेथी अर्थात आयुर्वेदिक पद्दतिबाट उपचार गर्दा रोग निको हुन केही समय लाग्ने भएतापनि यसको ‘साइड इफेक्ट’ भने केही पनि हुदैन ।
कोभिडकालमा भने आयुर्वेदिक औषधिको अत्याधिक माग भयो । त्यो समयमा हामीलाई माग अनुसार आपुर्ति गर्न नै गाह्रो भएको थियो । त्यसपछि बजार केही घटेपनि अहिले विस्तारै बढ्दै गएको छ । जब मान्छेहरुले एलोपेथिक औषधिले ‘साइड इफेक्ट’ गर्छ भन्ने थाहा पाउन थाले, उनीहरु होमोपेथी औषधितिर आकर्षित हुन थालेको पाइन्छ । यसले गर्दा क्रमिकरुपमा एलोपेथी अर्थात आयुर्वेदिक औषधिको माग बढ्दै गएको पाइन्छ । पछिल्लो समयमा मान्छेहरु ‘ब्याक टु नेटर’को अवधारणामा गइरहेका छन् । यसले गर्दा पनि आयुर्वेदिक औषधिको बढ्दै गइरहेको छ ।

अहिले नेपालमा कतिवटा आयुर्वेदिक औषधि उत्पाद गर्ने उद्योगहरु संचालनमा छन् ?

नेपाल औषधि व्यवस्था विभागको डेटाको हिसाबले हेर्ने हो भने नेपालमा एक सय १६ वटा जति आयुर्वेदिक औषधिका उद्योगहरु छन् । हाम्रो संघमा अवद्ध भएका वा वास्तविकरुपमा अहिले संचालन भइरहेका उद्योगहरु भने ५०– ५२ वटा जति छन् । त्यसमा पनि राम्रोसँंग संचालन भइरहेका उद्योग भने ४०–४२ वटा जति छन् । त्यसमा पनि अझै ‘जीएमपी होल्डलर’ उद्योग भनेको २ वटा मात्र छन् ।

जीएमपी त सबै उद्योगहरुले लिनुपर्ने हो अहिलेसम्म किन २ वटा उद्योगहरुले मात्र लिएका ?

नेपालमा यो भन्दा अगाडि जीएमपीको मापदण्ड नै थिएन । फेरि आयुर्वेदिक औषधि भनेको मानवमा प्रमाणित भएको औषधि हो । एलोपेथी जस्तो मुसामा, विरालोमा, बाँदरमा आदि जस्ता जनावारमा प्रयोग गरेर पछि मानवमा प्रयोग गरिने औषधि होइन । यो भन्दै गर्दा हामीलाई जीएमपी चाहिदैन भनेको होइन । जीएमपी त हाम्रै राम्रोको लागि हो । समय अनुसार आफूलाई पनि बदल्दै जानुपर्ने हुन्छ । २० वर्ष अगाडि उत्पादन भएको तरकारी र अहिलेको तरकारीमा धेरै फरक छ । त्यो समयमा शुद्ध अर्गानिक उत्पादन हुन्थ्यो भने अहिले विभिन्न केमिकल तथा औषधिहरु लगाएर उत्पादन गरिन्छ । यसले गर्दा २० वर्ष अगाडिको उपचारका लागि जति मात्रामा आयुर्वेद औषधिको प्रयोग गरिन्थ्यो । अहिले त्यतिमात्राले काम गर्न सक्दैन । त्यसैले मैले समय अनुसार आफूलाई परिमार्जित र परिवर्तित गर्दै जानुपर्छ भनिएको हो । हामीले त जीएमपी छिटो भन्दा छिटो लागू गर भनिरहेका हुन्छौं । हामीले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न पनि वैज्ञानिक प्रमाणिकरण अर्थात जीएमपी आवश्यक छ ।

आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगमा कति जति लगानी होला र कतिजनालाई रोजगारी दिइरहका छन् ?

लगानीको कुरा गर्दा अहिले ४२ वटा जति उद्योगहरु संचालित छन् । यसमा एभरेजमा १० करोडको लगानीको मात्र हिसाब गर्ने हो भने पनि अरबौंको लगानी छ यस क्षेत्रमा । त्यस्तै रोजगारीको कुरा गर्दा एउटा उद्योगले घटिमा २५ जनालाई रोजगारी दिएको छ । यसलाई नै आधार मान्ने हो भने पनि एक हजार १२ सय जना भन्दा बढीलाई प्रतक्ष्य रोजगारी दिएको छ ।

कस्ता कस्ता रोगको आयुर्वेदिक औषधि उत्पादन हुन्छ नेपालमा ?

प्रायः सबै रोगको औषधिहरु उत्पादन हुन्छन् । त्यसमा पनि विशेषगरी नसर्ने रोगको औषधिहरु बढीमात्रामा उत्पादन हुन्छन् । आयुर्वेदिक औषधि भनेको पनि बढिमात्रामा नसर्ने रोगका लागि रुचाइएको औषधि हो ।

आयुर्वेदिक औषधिमा नेपाल आत्मनिर्भर छ कि छैन ?

चुर्णजातिका औषधि उत्पादनमा नेपाल पूर्णरुपमा आत्मनिर्भर छ । अर्थात वनस्पतिबाट उत्पादन हुने औषधिहरुमा नेपाल आत्मनिर्भर छ । जनवार अथवा खनिजबाट बनाइने औषधिहरुमा भने विदेशबाट नै ल्याउनुपर्ने हुन्छ । ४० प्रतिशतजति नेपालमै उत्पादन भएको औषधिहरुले बजार ओगटेको छ भने ६० प्रतिशत जति औषधि भने भारत लगायत तेस्रो मुलुकबाट आयात गरिरहेको पाइन्छ ।

निर्यातको संभावना चाँही कस्तो छ ?

औषधिको कुरा गर्ने हो भने अहिलेसम्म नगन्य रुपमा भएको छ । नेपाललाई जडिबुटीको खानी भनिन्छ । तर त्यही जडिबुटीबाट बनेको औषधिको निर्यात भने नगन्य छ । यो भने बत्ति मुनीको अँध्यारोजस्तो हो । यदि सरकारी स्तरबाट पहल कदमी गरिदिने हो भने तुरुन्त निर्यात गर्न सकिन्छ । र, नेपालको लागि निर्यातको ठूलो संभावना बोकेको क्षेत्र पनि यही हो । सरकारले सहुलियत दिने हो भने निर्यालाई प्रोत्साहन गर्ने हो भने ठूलो मात्रामा निर्यात गर्न सकिन्छ । तयारी औषधि निर्यात नभएपनि कच्चा पदार्थ भने विभिन्न देशमा निर्यात भइरहेको पाइन्छ ।

नेपालका आयुर्वेदिक औषधिहरु कत्तिको गुणस्तरीय छन् ?

गुणस्तरीय नै छन् । र, हुनु पनि पर्छ । औषधि भनेको गुणस्तरीय नै हुनुपर्छ । यसको त विकल्पन नै छैन । कसैले पनि स्वास्थ्यसँग खेलवाड गर्नु हुँदैन । हावा पानी, वातावरण, तापक्रम र उत्पादनको समयले थोरै मात्रमा गुणस्तरमा तल माथी हुनसक्छ । तर सबै औषधिहरु गुणस्तरीय नै छन् ।

कच्चा पदार्थ चाँही नेपालमै उपलब्ध छ कि बाहिरबाट ल्याउनु हुन्छ ?

कच्चा पदार्थको कुरा गर्दा औषधिमा कुनै पनि देश आत्मनिभर भन्ने हुँदैन । कुनै देशमा एउटा कच्चा पदार्थ छ भने अर्को देशमा अर्कै प्रकारको कच्चा पदार्थ हुन्छ । यो ‘चेन’ जस्तै हुन्छ । कुनै पनि देशले कुनै पनि कच्चा पदार्थ अर्को देशबाट आयात गर्नैैपर्ने हुन्छ । नेपालको कुरा गर्दा वनस्पतिजन्य कच्चा पदार्थ पूर्णरुपमा हाम्रो् देशमै उपलब्ध छ । विभिन्न प्रकारका खनिज तथा वन्यजन्तुजन्य कच्चा पदार्थ चाँही विदेशबाट आयात गरिन्छ । यसो भन्न सकिन्छ कि ५० प्रतिशत कच्चा पदार्थ नेपालमै पाइन्छ भने ५० प्रतिशत कच्चा पदार्थ बाहिरबाट आयात गरिन्छ ।

उद्योगीहरुको समस्या के छ ?

सबैभन्दा ठूला समस्या भनेको जनशक्तिको हो । यहाँ आयुर्वेद उद्योगलाई चाहिने जनशक्ति नै छैन । दक्ष जनशक्तिका लागि विभिन्न प्रकारका आयुर्वेद शिक्षा तथा ट्रेनिङहरु उपलब्ध गराइदिनु भनेर हामीले सरकारलाई भनिरहेका हुन्छौं । तर सरकारले कुरै सुन्दैन । त्यस्तै अर्को भनेको निर्यातका लागि सहजिकरण नहुनु रहेको छ । औषधि व्यवस्था विभागमा दर्ता भएको आधारमा हामीले निर्यात गर्न पाउनुपर्छ । यहाँ त औषधि व्यवस्था विभागले ‘सर्टिफिकेट’ दिन्छ । तर हामीले त्यो ‘सर्टिफिकेट’को आधारमा निर्यात गर्न पाउँदैनौ । अर्को भनेको हामी स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्छौ । तर हामीलाई चाहिने कच्चा पदार्थ भने वन मन्त्रालय अन्तर्गत पर्छ । स्वास्थ्य मन्त्रालय र वन मन्त्रालय बीचको तालमेल नहुँदा हामीलाई कच्चा पदार्थ उद्योगसम्म ल्याउन हामीलाई धेरै समस्या पर्ने गरेको छ । त्यस्तै विदेशबाट हामीले ल्याउने कच्चा पदार्थमा ३० प्रतिशतसम्म भंसार तिर्नुपर्छ । तर त्यही कच्चा पदार्थबाट बनेको औषधि ल्याउँदा चाँही ५ प्रतिशत भंसार तिरे पुग्छ । यसले गर्दा हामीलाई बजारिकरण गर्न धेरै समस्या भएको छ ।

आयुर्वेद औषधि उद्योगका भविष्य कस्तो देख्नुहुन्छ ?

भविष्य त धेरै राम्रो छ । अब मान्छेहरु विस्तारै ‘ब्याक टु नेचर’मा फर्कदैछन् । अर्थात आयुर्वेदिक औषधिले कुनै पनि ‘साइड इफेक्ट’ नगर्ने भएकाले मान्छेले आयुर्वेदिक औषधिको बढी प्रयोग गर्न थालेका छन् । भविष्यमा यसको प्रयोग गर्ने संख्या अझै बढ्दै जानेछ । यसरी हेर्दा आयुर्वेदिक औषधि उद्योगको भविष्य उज्ज्वल देखिन्छ ।

आरोग्य भवन वर्क्स प्रा.लि.को बारेमा बताइदिनोस् न ?

हाम्रो औषधि उद्योग निजी क्षेत्रको पहिलो आयुर्वेद औषधि उद्योग हो । यसको स्थापना सन् १९२५ मा भएको हो । अहिले सन् २०२५ चलिरहेको छ । यसको मतलव यस उद्योग स्थापना भएको सय वर्ष भइसकेको छ । सरकारीस्तरको सिंहदरबार वैद्यखाना पहिलो हो भने निजी क्षेत्रको हामी पहिलो हौं । हामीले एक सय २५ वटा जति फरक फरक प्रकारका औषधिहरु उत्पादन गरिरहेका छौं । बजारको कुरा गर्दा हाम्रो बजार त्यति ठूलो छैन । १०÷१२ करोडको हामी वार्षिक कारोबार गर्छौ । अहिले हाम्रो उद्योगमा ५१ जनाजत कर्मचारी कार्यरत छन् । हामीले अहिले यस उद्योगमा २५ करोड रुपैयाँ जति लगानी गरिसकेका छौं । हाम्रो उत्पादनहरु नेपालका प्रायः सबै क्षेत्रमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij