सुमन प्रसाद पाण्डे
अध्यक्ष, नेपाल आयुर्वेद औषधि उत्पादक संघ
नेपालमा आयुर्वेदिक औषधिको अवस्था कस्तो छ ?
आयुर्वेदिक औषधिको कुरा गर्दा अलिकति यसको इतिहासको बारेमा जान्नुपर्ने हुन्छ । नेपालमा संस्थागतरुपमा आयुर्वेद औषधिको उत्पादन सिंहदरबार वैद्यखानाको स्थापनादेखि भएको हो । त्यो समयमा राणाहरुले आफ्नो र आफ्नो परिवारलाई चाहिने औषधिको लागि स्थापना गरेका थिए । पछि यसलाई सरकारीकरण गरी उद्योगको रुपमा अगाडि बढाइयो । त्यो समयदेखि अहिलेको समयसम्म आइपुग्दा विभिन्न उतार चढावहरु आए । जब आधुनिक चिकित्सा पद्दतिको विकास भयो, त्यसपछि भने आयुर्वेदिक औषधिहरु छायाँमा पर्दै गएको पाइन्छ । आधुनिक चिकित्सा पद्दतिले यतिछिटो जनमानसमा प्रभाव जमायो कि उनीहरुले प्रायः सबै रोगको उपचारको लागि एलोपेथिकलाई नै अपनाउन थाले । यसो किन भयो भने एलोपेथिको माध्यमबाट उपचार गर्दा रोग छिटो निको हुन्छ । तर यसले ‘साइड इफेक्ट’ गर्छ । तर होमोपेथी अर्थात आयुर्वेदिक पद्दतिबाट उपचार गर्दा रोग निको हुन केही समय लाग्ने भएतापनि यसको ‘साइड इफेक्ट’ भने केही पनि हुदैन ।
कोभिडकालमा भने आयुर्वेदिक औषधिको अत्याधिक माग भयो । त्यो समयमा हामीलाई माग अनुसार आपुर्ति गर्न नै गाह्रो भएको थियो । त्यसपछि बजार केही घटेपनि अहिले विस्तारै बढ्दै गएको छ । जब मान्छेहरुले एलोपेथिक औषधिले ‘साइड इफेक्ट’ गर्छ भन्ने थाहा पाउन थाले, उनीहरु होमोपेथी औषधितिर आकर्षित हुन थालेको पाइन्छ । यसले गर्दा क्रमिकरुपमा एलोपेथी अर्थात आयुर्वेदिक औषधिको माग बढ्दै गएको पाइन्छ । पछिल्लो समयमा मान्छेहरु ‘ब्याक टु नेटर’को अवधारणामा गइरहेका छन् । यसले गर्दा पनि आयुर्वेदिक औषधिको बढ्दै गइरहेको छ ।
अहिले नेपालमा कतिवटा आयुर्वेदिक औषधि उत्पाद गर्ने उद्योगहरु संचालनमा छन् ?
नेपाल औषधि व्यवस्था विभागको डेटाको हिसाबले हेर्ने हो भने नेपालमा एक सय १६ वटा जति आयुर्वेदिक औषधिका उद्योगहरु छन् । हाम्रो संघमा अवद्ध भएका वा वास्तविकरुपमा अहिले संचालन भइरहेका उद्योगहरु भने ५०– ५२ वटा जति छन् । त्यसमा पनि राम्रोसँंग संचालन भइरहेका उद्योग भने ४०–४२ वटा जति छन् । त्यसमा पनि अझै ‘जीएमपी होल्डलर’ उद्योग भनेको २ वटा मात्र छन् ।

जीएमपी त सबै उद्योगहरुले लिनुपर्ने हो अहिलेसम्म किन २ वटा उद्योगहरुले मात्र लिएका ?
नेपालमा यो भन्दा अगाडि जीएमपीको मापदण्ड नै थिएन । फेरि आयुर्वेदिक औषधि भनेको मानवमा प्रमाणित भएको औषधि हो । एलोपेथी जस्तो मुसामा, विरालोमा, बाँदरमा आदि जस्ता जनावारमा प्रयोग गरेर पछि मानवमा प्रयोग गरिने औषधि होइन । यो भन्दै गर्दा हामीलाई जीएमपी चाहिदैन भनेको होइन । जीएमपी त हाम्रै राम्रोको लागि हो । समय अनुसार आफूलाई पनि बदल्दै जानुपर्ने हुन्छ । २० वर्ष अगाडि उत्पादन भएको तरकारी र अहिलेको तरकारीमा धेरै फरक छ । त्यो समयमा शुद्ध अर्गानिक उत्पादन हुन्थ्यो भने अहिले विभिन्न केमिकल तथा औषधिहरु लगाएर उत्पादन गरिन्छ । यसले गर्दा २० वर्ष अगाडिको उपचारका लागि जति मात्रामा आयुर्वेद औषधिको प्रयोग गरिन्थ्यो । अहिले त्यतिमात्राले काम गर्न सक्दैन । त्यसैले मैले समय अनुसार आफूलाई परिमार्जित र परिवर्तित गर्दै जानुपर्छ भनिएको हो । हामीले त जीएमपी छिटो भन्दा छिटो लागू गर भनिरहेका हुन्छौं । हामीले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न पनि वैज्ञानिक प्रमाणिकरण अर्थात जीएमपी आवश्यक छ ।
आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगमा कति जति लगानी होला र कतिजनालाई रोजगारी दिइरहका छन् ?
लगानीको कुरा गर्दा अहिले ४२ वटा जति उद्योगहरु संचालित छन् । यसमा एभरेजमा १० करोडको लगानीको मात्र हिसाब गर्ने हो भने पनि अरबौंको लगानी छ यस क्षेत्रमा । त्यस्तै रोजगारीको कुरा गर्दा एउटा उद्योगले घटिमा २५ जनालाई रोजगारी दिएको छ । यसलाई नै आधार मान्ने हो भने पनि एक हजार १२ सय जना भन्दा बढीलाई प्रतक्ष्य रोजगारी दिएको छ ।
कस्ता कस्ता रोगको आयुर्वेदिक औषधि उत्पादन हुन्छ नेपालमा ?
प्रायः सबै रोगको औषधिहरु उत्पादन हुन्छन् । त्यसमा पनि विशेषगरी नसर्ने रोगको औषधिहरु बढीमात्रामा उत्पादन हुन्छन् । आयुर्वेदिक औषधि भनेको पनि बढिमात्रामा नसर्ने रोगका लागि रुचाइएको औषधि हो ।
आयुर्वेदिक औषधिमा नेपाल आत्मनिर्भर छ कि छैन ?
चुर्णजातिका औषधि उत्पादनमा नेपाल पूर्णरुपमा आत्मनिर्भर छ । अर्थात वनस्पतिबाट उत्पादन हुने औषधिहरुमा नेपाल आत्मनिर्भर छ । जनवार अथवा खनिजबाट बनाइने औषधिहरुमा भने विदेशबाट नै ल्याउनुपर्ने हुन्छ । ४० प्रतिशतजति नेपालमै उत्पादन भएको औषधिहरुले बजार ओगटेको छ भने ६० प्रतिशत जति औषधि भने भारत लगायत तेस्रो मुलुकबाट आयात गरिरहेको पाइन्छ ।
निर्यातको संभावना चाँही कस्तो छ ?
औषधिको कुरा गर्ने हो भने अहिलेसम्म नगन्य रुपमा भएको छ । नेपाललाई जडिबुटीको खानी भनिन्छ । तर त्यही जडिबुटीबाट बनेको औषधिको निर्यात भने नगन्य छ । यो भने बत्ति मुनीको अँध्यारोजस्तो हो । यदि सरकारी स्तरबाट पहल कदमी गरिदिने हो भने तुरुन्त निर्यात गर्न सकिन्छ । र, नेपालको लागि निर्यातको ठूलो संभावना बोकेको क्षेत्र पनि यही हो । सरकारले सहुलियत दिने हो भने निर्यालाई प्रोत्साहन गर्ने हो भने ठूलो मात्रामा निर्यात गर्न सकिन्छ । तयारी औषधि निर्यात नभएपनि कच्चा पदार्थ भने विभिन्न देशमा निर्यात भइरहेको पाइन्छ ।

नेपालका आयुर्वेदिक औषधिहरु कत्तिको गुणस्तरीय छन् ?
गुणस्तरीय नै छन् । र, हुनु पनि पर्छ । औषधि भनेको गुणस्तरीय नै हुनुपर्छ । यसको त विकल्पन नै छैन । कसैले पनि स्वास्थ्यसँग खेलवाड गर्नु हुँदैन । हावा पानी, वातावरण, तापक्रम र उत्पादनको समयले थोरै मात्रमा गुणस्तरमा तल माथी हुनसक्छ । तर सबै औषधिहरु गुणस्तरीय नै छन् ।
कच्चा पदार्थ चाँही नेपालमै उपलब्ध छ कि बाहिरबाट ल्याउनु हुन्छ ?
कच्चा पदार्थको कुरा गर्दा औषधिमा कुनै पनि देश आत्मनिभर भन्ने हुँदैन । कुनै देशमा एउटा कच्चा पदार्थ छ भने अर्को देशमा अर्कै प्रकारको कच्चा पदार्थ हुन्छ । यो ‘चेन’ जस्तै हुन्छ । कुनै पनि देशले कुनै पनि कच्चा पदार्थ अर्को देशबाट आयात गर्नैैपर्ने हुन्छ । नेपालको कुरा गर्दा वनस्पतिजन्य कच्चा पदार्थ पूर्णरुपमा हाम्रो् देशमै उपलब्ध छ । विभिन्न प्रकारका खनिज तथा वन्यजन्तुजन्य कच्चा पदार्थ चाँही विदेशबाट आयात गरिन्छ । यसो भन्न सकिन्छ कि ५० प्रतिशत कच्चा पदार्थ नेपालमै पाइन्छ भने ५० प्रतिशत कच्चा पदार्थ बाहिरबाट आयात गरिन्छ ।
उद्योगीहरुको समस्या के छ ?
सबैभन्दा ठूला समस्या भनेको जनशक्तिको हो । यहाँ आयुर्वेद उद्योगलाई चाहिने जनशक्ति नै छैन । दक्ष जनशक्तिका लागि विभिन्न प्रकारका आयुर्वेद शिक्षा तथा ट्रेनिङहरु उपलब्ध गराइदिनु भनेर हामीले सरकारलाई भनिरहेका हुन्छौं । तर सरकारले कुरै सुन्दैन । त्यस्तै अर्को भनेको निर्यातका लागि सहजिकरण नहुनु रहेको छ । औषधि व्यवस्था विभागमा दर्ता भएको आधारमा हामीले निर्यात गर्न पाउनुपर्छ । यहाँ त औषधि व्यवस्था विभागले ‘सर्टिफिकेट’ दिन्छ । तर हामीले त्यो ‘सर्टिफिकेट’को आधारमा निर्यात गर्न पाउँदैनौ । अर्को भनेको हामी स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्छौ । तर हामीलाई चाहिने कच्चा पदार्थ भने वन मन्त्रालय अन्तर्गत पर्छ । स्वास्थ्य मन्त्रालय र वन मन्त्रालय बीचको तालमेल नहुँदा हामीलाई कच्चा पदार्थ उद्योगसम्म ल्याउन हामीलाई धेरै समस्या पर्ने गरेको छ । त्यस्तै विदेशबाट हामीले ल्याउने कच्चा पदार्थमा ३० प्रतिशतसम्म भंसार तिर्नुपर्छ । तर त्यही कच्चा पदार्थबाट बनेको औषधि ल्याउँदा चाँही ५ प्रतिशत भंसार तिरे पुग्छ । यसले गर्दा हामीलाई बजारिकरण गर्न धेरै समस्या भएको छ ।
आयुर्वेद औषधि उद्योगका भविष्य कस्तो देख्नुहुन्छ ?
भविष्य त धेरै राम्रो छ । अब मान्छेहरु विस्तारै ‘ब्याक टु नेचर’मा फर्कदैछन् । अर्थात आयुर्वेदिक औषधिले कुनै पनि ‘साइड इफेक्ट’ नगर्ने भएकाले मान्छेले आयुर्वेदिक औषधिको बढी प्रयोग गर्न थालेका छन् । भविष्यमा यसको प्रयोग गर्ने संख्या अझै बढ्दै जानेछ । यसरी हेर्दा आयुर्वेदिक औषधि उद्योगको भविष्य उज्ज्वल देखिन्छ ।
आरोग्य भवन वर्क्स प्रा.लि.को बारेमा बताइदिनोस् न ?
हाम्रो औषधि उद्योग निजी क्षेत्रको पहिलो आयुर्वेद औषधि उद्योग हो । यसको स्थापना सन् १९२५ मा भएको हो । अहिले सन् २०२५ चलिरहेको छ । यसको मतलव यस उद्योग स्थापना भएको सय वर्ष भइसकेको छ । सरकारीस्तरको सिंहदरबार वैद्यखाना पहिलो हो भने निजी क्षेत्रको हामी पहिलो हौं । हामीले एक सय २५ वटा जति फरक फरक प्रकारका औषधिहरु उत्पादन गरिरहेका छौं । बजारको कुरा गर्दा हाम्रो बजार त्यति ठूलो छैन । १०÷१२ करोडको हामी वार्षिक कारोबार गर्छौ । अहिले हाम्रो उद्योगमा ५१ जनाजत कर्मचारी कार्यरत छन् । हामीले अहिले यस उद्योगमा २५ करोड रुपैयाँ जति लगानी गरिसकेका छौं । हाम्रो उत्पादनहरु नेपालका प्रायः सबै क्षेत्रमा उपलब्ध छन् ।
