२०८३ साउन ९ शनिबार

‘नेपालमा उत्पादित एकै प्रकारका औषधि विदेशबाट आयातमा प्रतिबन्ध लगाउनु पर्छ’

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
3.9K
Shares
‘नेपालमा उत्पादित एकै प्रकारका औषधि विदेशबाट आयातमा प्रतिबन्ध लगाउनु पर्छ’

महेश प्रधान

निवर्तमान अध्यक्ष, नेपाल औषधि उत्पादक संघ

नेपालमा औषधिको बजार कस्तो छ ?

नेपालमा औषधिको बजार ‘इन्क्रिजिङ’ भइरहेको छ । गत वर्ष राम्रो थियो । त्यो भन्दा अगाडि भने बजार खस्किएको थियो । लगभल ६५ अर्बको औषधिको बजार रहेको छ । यसमा ५० प्रतिशत जति नेपाली उत्पादनले ओगटेको छ । अर्थात करिब ३४ अर्ब जति नेपाली औषधिको वार्षिक कारोबार रहेको छ । तर कोभिडको समयमा बजार धेरै नै खस्किएको थियो । अहिले कोडिभ भन्दा अगाडि जुन अवस्थामा बजार थियो । हामी त्यही अवस्थामा पुगेका छौं ।

कोडिटको समयमा त बिरामी बढी हुन्छन् । जति बिरामी बढी हुन्छन्, त्यति औषधिको खपत बढी हुन्छ । तर तपाई कोभिडको समयमा बजार घट्यो भन्नुहुन्छ ?

सैद्धान्तिक रुपमा हेर्दा त्यस्तै देखिन्छ । तर वास्तविकता अर्कै हुँदोरहेछ । कोभिडको समयमा हस्पिटलहरु सबै बन्द भएका थिए । त्यस्तै क्लिनिकहरु पनि सबै बन्द नै थिए । जति बिरामी भएपनि उनीहरु हस्पिटल जाने अवस्था थिएन । अर्को भनेको सरकारले नै ‘लकडाउन’ गरेको थियो । त्यो समयमा आवत जावत तथा हिडडुल गर्ने अवस्था थिएन । यस्तै कारणले गर्दा त्यो समयमा हाम्रो व्यापार घटेको हो । घरबाट कोही पनि बाहिर निस्कने अवस्था थिएन । त्यसको असर प्रत्यक्षरुपमा हामीलाई प¥यो ।

अहिले नेपाली औषधि उत्पादन गर्ने कम्पनीहरुको अवस्था चाँही कस्तो छ ?

कम्पनीको कुरा गर्ने हो भने अहिले त्यति राम्रो अवस्था छैन । नेपालमा अहिले ८३ वटा उद्योगहरुले औषधि उत्पादन गरिरहेका छन् । त्यसमा लगभग नौ वटाजति कम्पनी बन्द भइसकेका छन् । थप ८/१० वटा कम्पनीहरु बन्दको संघारमा रहेका छन् । उनीहरु कुनै पनि समय बन्द हुन्छन् । बाँकी रहेका अन्य कम्पनीहरु पनि ठूला समस्यामा रहेका छन् । यसरी नेपाली कम्पनीहरुलाई अप्ठ्यारो पर्नुको कारण भनेको विदेशबाट आयात गरिएका औषधिहरुको बर्चस्व नेपाली बजारमा हुनु नै रहेको छ । छिमेकी देशहरुमा कम लागतमा औषधिहरु उत्पादन हुन्छन् । सरकारले हरेक कुरामा ‘फेसिलेटेड’को काम गरेको हुन्छ । त्यहाँ सरकारले नै सस्तोमा जमिन उपलब्ध गराउँछ । कम्पनी स्थापना भएको कम्तिमा पनि १० वर्ष सम्म कुनै पनि कर लगाउँदैन । त्यस्तै अन्य धेरै सुविधाहरु दिएको हुन्छ । त्यसैले त्यहाँ उत्पादन भएका औषधिहरुको लागत कम हुन्छ । र सस्तोमा बजारमा पाइन्छ । तर नेपालमा सरकारी स्तरबाट कुनै पनि सेवा सुविधा दिइको छैन । जति सकिन्छ सबै उद्योगी व्यवसायीहरुका बल बुताले नै गर्ने हो । कच्चा पदार्थदेखि लिएर प्रायः सबै कुरा हामीले विदेशबाट नै आयात गर्नुपर्छ । यसरी सबै कुरा विदेशबाट आायत गरेर यहाँ उत्पादन गर्दा औषधिको लागत बढी हुन्छ । र बजारमा मूल्य पनि बढी हुन्छ । यसरी बढी मूल्य भएकाले विदेशबाट आयात गरिएका सस्तो मूल्यका औषधिहरुसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं ।

”कम्तिमा पनि ५ वटा कम्पनीहरुले एकै प्रकारका औषधिहरु उत्पादन गरिरहेका छन् भने त्यस्तो औषधि आयातमा प्रतिबन्द लगाउनुपर्छ”

यहाँ उत्पादन भइरहेका औषधिहरु आयातमा बन्द गरिनुपर्छ । हामीले सरकारसँग पनि बारम्बार माग गरिरहेका छौं कि कम्तिमा पनि यहाँ ५ वटा कम्पनीले एकै प्रकारका औषधिहरु उत्पादन गरिरहेका छन् भने त्यस्ता औषधिलाई आयातमा प्रतिबन्द लगाउनुपर्छ भनेर । तर सरकारले हाम्रा कुनै पनि माग सुनेको छैन । घटिमा पनि ५ वटा कम्पनीले यहाँ एकै प्रकारका औषधि उत्पादन गरिरहेका छन् भने त्यो औषधिमा त नेपाल आत्म निर्भर भइसक्यो । त्यस्तो प्रकारको औषधि आयात गर्नु नै पर्दैन । यदि यस्ता प्रकारका औषधिको आयात बन्द हुने हो भने ती पाँचवटा कम्पनी त ‘सर्भाइभ’ गर्न सक्छन् ।

 

नेपालमा जशक्तिको अवस्था कस्तो छ ?

यहाँ अहिलेसम्म त जनशक्ति धेरै राम्रो छ । हामीले तालिमहरु दिइहेका हुन्छौं । विदेशबाट सम्बन्धित विषयको ज्ञान भएका मान्छे झिकाएर तालिमहरु संचालन गरिहका हुन्छौं । त्यस्तै विदेश पठाएर पनि तालिम दिएका छौं । तर एउटा समस्या के छ भने जतिसुकै दक्ष जनशक्ति भएपनि हामीले यहाँ रोक्न सकेका छैनौं । उनीहरु विदेश पलायन भइहाल्छन् । सरकारले जनशक्ति रोक्नका लागि केही पनि कदम नचाल्ने हो भने पछि हाम्रो क्षेत्रमा जनशक्तिको अभाव निश्चित छ ।

यस क्षेत्रमा प्रतिस्पर्धा कस्तो छ ?

प्रतिस्पर्धा त ‘ह्याब्बी’ छ । यहाँ नेपाली कम्पनीहरु बीच पनि प्रतिस्पर्धा छ र बाहिरबाट आएका औषधिसँग पनि प्रतिस्पर्धा गर्नुपरेको छ । यहीका कम्पनीहरुबीचको प्रतिस्पर्धा त स्वच्छ नै छ । अहिलेसम्म अस्वच्छ भइसकेको छैन । तर आयातित औषधिहरुसँग भने अस्वच्छ प्रतिस्पर्धा छ । किनभने बाहिरबाट ल्याइएका औषधिहरु सस्ता छन् । तर गुणस्तर चेक गरिएको छैन । मलाई लाग्छ, बाहिरबाट ल्याइएका औषधिहरु गुणस्तरीय छैनन । तर हामी सस्तोको पछि लाग्ने भएकोले उनीहरुसँग प्रतिस्पर्धा गर्न हामीले पनि गुणस्तरमा भन्दा सस्तोमा ध्यान दिएर औषधि उत्पादन गर्नुपर्ने बाध्यता रहेको छ । यसले गर्दा आयातित औषधिहरुसँग अस्वच्छ प्रतिस्पर्धा बढेको छ ।

नेपाली औषधि कम्पनीहरुका समस्याहरु के कस्ता छन् ?

हाम्रो सबैभन्दा ठूलो समस्या भनेको हामीले उत्पादन गरेका औषधिहरु जस्तै औषधिहरु विदेशबाट आयात गर्नु रहेको छ । हामीले बारम्बार सरकारलाई कम्तिमा पनि ५ वटा नेपाली कम्पनीहरुले एकै प्रकारको औषधिहरु उत्पादन गरिरहेका छन् भने त्यस्तो प्रकारको औषधिहरुको आयात बन्द गरिदिनोस् भनिरहेका हुन्छौं । तर सरकारले यस सम्बन्धी कुनै पनि कदम चालेको छैन । अर्को भनेको नेपाली कम्पनीबाट उत्पादन भएका औषधिहरु नेपाल सरकारले नकिन्नु हो । अहिलेसम्म सरकारले गुणस्तर नहेरिकन सस्तोको पछि लागेर विदेशी औषधिहरु नै किन्ने गरेको छ । यसलाई तत्काल रोकेर नेपाली कम्पनीहरुले उत्पादन गरेको औषधिहरु किन्ने व्यवस्था गर्नुपर्छ । अर्को सरकार गुणस्तरलाई ध्यान नै नदिइकन सस्तोको पछि लाग्नु हो । सरकारले बारम्बार हामीलाई फलानो देशबाट आएको औषधि यति सस्तो छ । तपाईहरुको यति महंगो भयो भन्नुहुन्छ । तर उहाँहरु गुणस्तर कहिल्यै हेर्नुहुन्न । यसरी सस्तोको पछि लाग्नु भएन । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिहरुलाई सरकारले सस्तो भन्दा पनि गुणस्तरमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij