काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन आर्थिक पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सञ्चार क्षेत्रले सरकारका नीतिगत कमजोरी उजागर गर्नुका साथै, उपलब्धिहरू जनतालाई जानकारी दिनुपर्ने बताए।
उनले भने, “सरकारका नीति र कार्यान्वयनमा त्रुटि भए त्यो जनसमक्ष पु¥याउनु सञ्चारकर्मीको दायित्व हो। त्यस्तै, सरकारले गरेका राम्रो कामबारे पनि नागरिकलाई सुसूचित पार्नु सञ्चार क्षेत्रको बराबर जिम्मेवारी हो।”
निजी क्षेत्रका नेतृत्वद्वारा अर्थतन्त्र सुधारका उपाय सुझाव
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गर्दै पछिल्लो समय सुधारको संकेत देखिएको बताए।
उनले कानुनी र नीतिगत सुधारका लागि महासंघले सरकारलाई निरन्तर सुझाव दिँदै आएको तर कार्यान्वयन कमजोर हुँदा अपेक्षित परिणाम नआएको धारणा राखे।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुन क्षेत्रमा कति लगानी आवश्यक छ भन्नेबारे परिसंघले अध्ययन गरिरहेको जानकारी दिँदै नीतिगत तथा कानुनी सुधार अपरिहार्य रहेकोमा जोड दिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक सूचकहरू सुधार भए पनि निजी क्षेत्र अझै लगानीमा अघि नबढेको बताए। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सिफारिसहरू कार्यान्वयनमा ल्याउन आग्रह गरे।
अनुसन्धान र गुणस्तरमा जोड
कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले भोगिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक विषयमा अनुसन्धानमूलक पत्रकारिताको खाँचोबारे धारणा राखे।