ई-आर्थिक, ललितपुर । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने चीन–भारत सहमतिप्रति चीनसमक्ष औपचारिक असहमति जनाइएको बताएका छन्।
शुक्रबार ललितपुरको सनराइज सभा हलमा सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले लिपुलेकबारे स्पष्ट असहमति राखेको जानकारी दिएका हुन्।
उनले यसबारे भारतसँग पनि पटक–पटक कूटनीतिक वार्ता हुँदै आएको उल्लेख गर्दै भने, “लिपुलेक हाम्रो भूमि हो भन्ने कुरा हामीले स्पष्ट रुपमा राखेका छौं।“
प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (GSI) मा नेपालले कुनै समर्थन नगरेको पनि खुलासा गरे। उनले भने, “नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग छ। हामी कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौं।“
महाधिवेशनको उद्घाटन मन्तव्यमा प्रधानमन्त्री ओलीले पार्टी संगठन सुदृढीकरण, राष्ट्रिय स्वाधीनता र भूभागीय अखण्डताको रक्षामा एमाले प्रतिबद्ध रहेको पनि बताए।