ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो डेढ महिनामा सरकारले वार्षिक बजेट लक्ष्यको मात्र ४.०३ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ १५ सम्म सरकारको कुल खर्च ७९ अर्ब १९ करोड ९० लाख रुपैयाँ पुगेको हो।
यस अवधिमा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड बजेटमध्ये ४३ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ३.७ प्रतिशत हो। गत वर्ष सोही अवधिमा यो शीर्षकको खर्च २.५३ प्रतिशत मात्र थियो।
पुँजीगत बजेट अर्थात् विकास खर्चतर्फ भने झनै कमजोर प्रगति देखिएको छ। ४ खर्ब ७ अर्ब ८८ करोड छुट्याइएको विकास बजेटमध्ये भदौ १५ सम्म जम्मा ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन ०.८३ प्रतिशत हो। गत वर्ष यही अवधिमा यो अनुपात ३.१४ प्रतिशत थियो।
वित्तीय व्यवस्थापन शीर्षकमा भने खर्च केही उच्च देखिएको छ। मुख्यतः ऋण भुक्तानीमा प्रयोग हुने यो शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन गरिएकोमा हालसम्म ३२ अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुलको ८.५५ प्रतिशत हो।
सरकारको कुल खर्चमा केही वृद्धि देखिए पनि राजस्व संकलन भने लक्ष्यभन्दा पछाडि देखिएको छ। चालु आवमा १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखिएकोमा डेढ महिनामा १ खर्ब १२ अर्ब ६२ करोड मात्रै उठेको छ। यो कुल लक्ष्यको ७.६१ प्रतिशत हो। गत वर्ष यसै अवधिमा यो अनुपात ८.०३ प्रतिशत थियो।
कर राजस्वतर्फ १ खर्ब ७ अर्ब ४१ करोड (८.१%) र गैरकर राजस्वतर्फ ५ अर्ब २० करोड (३.३७%) संकलन भएको छ। वैदेशिक अनुदानबाट ८५ करोड ८५ लाख र अन्य शीर्षकमा ७५ करोड २० लाख प्राप्त भएको छ।
हालसम्मको अवस्था हेर्दा विकास खर्च र राजस्व संकलन दुवैमा सुधारको खाँचो देखिएको छ। चालु वर्षको बजेट कार्यान्वयनले अपेक्षित गति लिन नसकेको विश्लेषण अर्थशास्त्रीहरूले गरेका छन्।