ई-आर्थिक, काठमाडौं । खोटाङस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको भवन निर्माणमा भ्रष्टाचार गरिएको आरोपमा तत्कालीन तीन तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल सहित १३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
जिल्ला शिक्षा कार्यालय, खोटाङ र विद्यालय व्यवस्थापन समितिबीच मिति २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो। सम्झौता अनुसार ४ कोठे RCC विद्यालय भवन निर्माणका लागि २४ लाख रुपैयाँ सरकारी अनुदान र २५ प्रतिशत जनश्रमदान गरी ३० लाख रुपैयाँको लागत अनुमान गरिएको थियो। तर, सो भवन निर्माण कार्यमा उल्लेखित संरचना बन्नु त परै जाओस्, केवल DPC (ड्याम्प प्रुफ कोर्स) मात्र बनाइएको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा उल्लेख भएअनुसार फिल्डमा जम्मा रु.२,७२,३२८.६१ बराबरको मात्रै काम भएको देखिएको छ। तर, प्राविधिक मूल्याङ्कन र भौतिक प्रगति विवरणमा झुट्टा विवरण पेश गरी बाँकी रु.२४ लाख सम्पूर्ण रकम निकासा गरी भुक्तानी गरिएको पाइएपछि यो भ्रष्टाचार उजागर भएको हो।
आयोगले दिएको जानकारीअनुसार, सम्बन्धित अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक र अन्य व्यक्तिहरूको मिलेमतोमा विद्यालयको भवन निर्माण नहुँदै झुट्टा बिल भरपाई, प्राविधिक प्रतिवेदन तथा दस्तावेज तयार गरी रकम दुरुपयोग गरिएको छ।
यसरी राष्ट्रको सम्पत्ति हानी पुर्याउने बदनियतपूर्वक कार्य गरी व्यक्तिगत लाभ लिने उद्देश्यले भ्रष्टाचार गरिएको पुष्टि भएपछि आयोगले उनीहरू विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अख्तियारले प्रमुख प्रतिवादी पूर्व जिल्ला शिक्षा अधिकारी डा. भट्टराईसँग १० लाख , दुई जिशिअद्वय दाहाल र नेपालसँग जनही १४/१४ लाख, अन्य शिक्षा अधिकारी, प्रधानाध्यापक, लेखापाल, सब-इन्जिनियर र ठेकेदारसहित सबैबाट गरी कुल १ करोड ६४ लाख रुपैयाँ बिगो माग गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आरोपितहरू उपर प्रचलित भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गर्दै सजाय र क्षतिपूर्ति दाबी गरिएको छ।