ई-आर्थिक, रुकुमपश्चिम । रुकुमपश्चिममा गएको पहिरोका कारण मध्यपहाडी राजमार्गको एक महत्वपूर्ण खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। चौरजहारी नगरपालिका–८ स्थित कालेखोलामा खसेको ठूलो पहिरोले सडकका साथै खोलामाथिको पुल समेत पुरेको छ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले कालेखोलाको पुल पूरै पुरेको छ, जसका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। उनका अनुसार, “खोलामै माटो र ढुंगा थुप्रिएको छ, पुल देखिँदैन। तत्काल बाटो खुलाउने प्रयास भइरहेका छन्।”
उक्त खण्ड अवरुद्ध भएपछि चौरजहारीतर्फ जाने तथा त्यहाँबाट आउने सवारीसाधन अलपत्र परेका छन्। स्थानीयवासीले वैकल्पिक बाटो प्रयोग गर्नु परेको बताइएको छ।
सडक खुलाउन आवश्यक उपकरणसहितको डोजर र प्राविधिक टोली घटनास्थलमा खटिइसकेको छ। तर लगातारको वर्षाका कारण काममा ढिलाइ भइरहेको छ।
स्थानीय प्रशासनले नागरिकहरूलाई सतर्क रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।