ई–आर्थिक, काठमाडौं : नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्, त्यसपछि खापुङले औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। उनी वरीयतामा पहिलो स्थानमा रहेका एआईजी थिए, जसले उनलाई पदोन्नतीको प्रबल दावेदार बनाएको थियो।
को हुन् चन्द्रकुवेर खापुङ ?

खापुङ इलामका स्थायी बासिन्दा हुन् र लामो समयदेखि नेपाल प्रहरीमा सेवा गर्दै आएका छन्। उनले प्रहरी सेवा प्रवेशपछि विभिन्न जिल्लाहरुमा प्रहरी प्रमुख, केन्द्रीय कार्यालयहरूमा महत्वपूर्ण जिम्मेवारी तथा शान्ति सुरक्षासम्बन्धी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका छन्।
उनले संगठित अपराध, साइबर अपराध र अनुसन्धान क्षेत्रका विविध पक्षमा दक्षता प्रदर्शन गर्दै आएका छन्। खापुङले प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र पेशागत निष्पक्षताको पक्षमा आफूलाई प्रतिबद्ध बनाउँदै आएका छन्।
स्रोतका अनुसार, खापुङ भित्रको नेतृत्वदक्षता, व्यवहारिक निर्णय क्षमता र पेशागत इमान्दारीताका कारण संगठनभित्र पनि सम्मानित व्यक्तित्वको रुपमा चिनिन्छन्।
आगामी चुनौती र अपेक्षा
आईजीपी खापुङको नेतृत्वमा नेपाल प्रहरीले शान्ति-सुरक्षा, अपराध नियन्त्रण, डिजिटल अपराधको रोकथाम तथा प्रहरी सेवा सुधारमा विशेष प्राथमिकता दिने अपेक्षा गरिएको छ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति तथा प्रहरी जनताको सम्बन्ध थप मजबुत बनाउने अभियानमा समेत उनी केन्द्रीत हुने संकेत देखिएको छ।