ई-आर्थिक, गण्डकी । गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आम्दानी उल्लेख्य रूपमा बढेको छ। पर्यटक आगमनमा आएको २५ प्रतिशत वृद्धि सँगै विदेशी पर्यटकबाट सङ्कलन हुने प्रवेश शुल्कबाट रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ आम्दानी भएको एक्यापले जनाएको छ।
गत वर्ष अन्नपूर्ण क्षेत्रमा २ लाख ७८ हजार ११३ विदेशी पर्यटक पुगेका थिए। अघिल्लो वर्ष सो संख्या २ लाख २२ हजार १८० थियो। तीमध्ये दक्षिण एसियाली मुलुकहरूबाट आएका पर्यटक १ लाख ५७ हजार ७८६ रहेका छन् भने अन्य मुलुकका १ लाख २० हजार ३२७ पर्यटक रहेका छन्।
एक्यापले दक्षिण एसियाली पर्यटकका लागि रु १,००० र अन्य विदेशी पर्यटकका लागि रु ३,००० को दरले प्रवेश शुल्क लिँदै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा यस शीर्षक अन्तर्गत रु ३८ करोड ९४ लाख ६१ हजार ४८३ राजस्व सङ्कलन भएको थियो।
एक्याप प्रमुख डा. रविन कडरियाका अनुसार सरकारबाट छुट्टै बजेट नआउने भएकाले कार्यालय सञ्चालनदेखि वार्षिक कार्यक्रम तथा कर्मचारी व्यवस्थापनसम्म सबै खर्च आन्तरिक आम्दानीमै निर्भर रहेको छ। चालु आर्थिक वर्षका लागि रु ३८ करोड बराबरको बजेट स्वीकृत भइसकेको छ।
एक्यापले पदमार्ग मर्मत, फोहर व्यवस्थापन, साना सिँचाइ तथा खानेपानी आयोजना, संरक्षण शिक्षा, र स्थानीय समुदायलाई लक्षित आयआर्जन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
उता, उपल्लो मुस्ताङ र नार–फू जस्ता निषेधित क्षेत्रमा प्रवेश गर्ने पर्यटकबाट पनि ठूलो मात्रामा राजस्व उठेको छ। पछिल्लो वर्ष यस्ता पर्यटकबाट रु ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क संकलन गरिएको छ। नार–फू क्षेत्र प्रवेश गर्नेले १,००० अमेरिकी डलर र उपल्लो मुस्ताङ जानेले ५०० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ।
अन्नपूर्ण क्षेत्रमा मुख्य पर्यटकीय चाप असोज–कात्तिक र चैत–वैशाख महिनामा पर्ने गरेको एक्यापले जनाएको छ। जाडो र वर्षातको समयमा पदयात्रुहरूको उपस्थिति घट्ने भए पनि अन्य समयहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल नियमितजस्तै हुने गरेको छ।
प्राकृतिक सौन्दर्य र पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्र ७,६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जसमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तह अन्तर्गत ८७ वडा समावेश छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, तिलिचो ताल, थोरङला पास, मुक्तिनाथ, पुनहिल, घान्द्रुक लगायतका गन्तव्यले हरेक वर्ष लाखौं पर्यटक तान्ने गरेका छन्।