२०८३ साउन १२ मंगलबार

पृथ्वीराजमार्गमा अधुरो विस्तार र वर्षाले थप संकट, सवारी सञ्चालन जोखिममा

ई आर्थिक    बिहिबार, भाद्र १२ २०८२
2.6K
Shares
पृथ्वीराजमार्गमा अधुरो विस्तार र वर्षाले थप संकट, सवारी सञ्चालन जोखिममा

ई-आर्थिक, धादिङ ।  पृथ्वीराजमार्गको विभिन्न खण्डमा जारी सडक विस्तार, वर्षा र पहिरोको त्रिसंयोगले यात्रु तथा चालकहरूलाई सास्ती थपिएको छ। कतै पिच, कतै ढलान र कतै अधुरो निर्माणले गर्दा बाटो झट्ट हेर्दा राम्रो देखिए पनि, हिलो, धुलो, खाल्डाखुल्डी र अचानक खस्ने पहिरोका कारण सवारी सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ।

बुधबारदेखि लगातार परिरहेको वर्षाले धादिङ क्षेत्रको नागढुंगा–नौबिसे र नौबिसे–मुग्लिन खण्डमा स–साना पहिरो खस्ने, सडक हिलाम्मे हुने र यातायात अवरुद्ध हुने क्रम चलिरहेको छ। हालसम्म ठूला पहिरोले घण्टौं सडक थुनेको अवस्था भने आएको छैन।

काठमाडौंबाट धादिङतर्फ यात्रु बोक्ने माइक्रोबस चालक विकास श्रेष्ठ भन्छन्, “अहिले त सडकको खाल्डोभन्दा पहिरोको खतरा बढी छ। पहिरो खस्ने स्थानमा आँखा पु-याउनुपर्ने हुन्छ।”

सडक विस्तारका क्रममा भित्ताहरू काटिएको र वर्षाका कारण ती ठाउँबाट माटो र ढुंगा खस्ने क्रमले यात्रा झन जोखिमपूर्ण बनाएको छ। सडक अधुरो भएको र खाल्डाखुल्डी नपुरिएको कारणले साना सवारी चलाउन कठिन भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमाल भन्छन्, “पृथ्वीराजमार्ग अहिले पूर्णरूपमा अवरुद्ध त छैन, तर जोखिम भने छ। सवारी चालकले विशेष सतर्कता अपनाउनुपर्छ।”

मोटरसाइकल र स्कुटरचालकका लागि सडक पार गर्न अझै कठिन छ। घाम लाग्दा धुलो उड्ने, पानी पर्दा त्यही धुलो लेदोमा परिणत भई चिप्लो हुने भएकाले दुर्घटना हुने जोखिम उच्च छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार, विपद् रोकथाम र जोखिम व्यवस्थापनका लागि प्रहरी चौबीसै घण्टा खटिएको छ। उनले भने, “कुनै पनि स्थानमा समस्या परे तत्काल समाधान गर्न हामी तयारी अवस्थामा छौं।”

नागढुंगा–मुग्लिन ९६ किमी stretch को सडकखण्डको अधिकांश भागमा निर्माणाधीन पुल, साँघुरा स्थान र पहिरो सम्भावित क्षेत्र भएकाले ट्राफिक एकतर्फी हुनुपर्ने अवस्था बारम्बार आइरहेको छ। प्रहरीका अनुसार, दैनिक औसत १३ हजार सवारी साधन यो सडक खण्ड हुँदै काठमाडौं आउजाउ गर्छन्, चाडपर्वमा यो संख्या २० हजारसम्म पुग्छ।

हाल सडक सञ्चालन भइरहे पनि वर्षासँगै थप जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायको समन्वयमा सतर्कता अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij