२०८३ साउन ९ शनिबार

भरतपुर अस्पतालमा आर्थिक संकट, स्वास्थ्य बीमाबाट पाउनुपर्ने रकम एक अर्ब नाघ्यो

ई आर्थिक    बिहिबार, भाद्र १२ २०८२
5.6K
Shares
भरतपुर अस्पतालमा आर्थिक संकट, स्वास्थ्य बीमाबाट पाउनुपर्ने रकम एक अर्ब नाघ्यो

ई-आर्थिक, चितवन ।  भरतपुर अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाउनुपर्ने भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ, जसका कारण अस्पताल सञ्चालनमै गम्भीर चुनौती देखिएको छ।

संघीय सरकार अन्तर्गतको अस्पतालमा स्वास्थ्य बीमा गरेका सेवाग्राहीको चाप अत्यधिक रहेको छ। अस्पतालमा आउने करिब ७० प्रतिशत बिरामी बीमाका हुने गरेका छन्। तर, उपचार खर्चको बिल दाबी गरे पनि लामो समयदेखि रकम भुक्तानी नहुँदा सेवा प्रवाह प्रभावित भएको भरतपुर अस्पतालले जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार, गत आर्थिक वर्षको ९० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ भने यस आर्थिक वर्षको साउन महिनामात्रै १० करोड रुपैयाँ बराबरको दाबी पेश गरिएको छ। योसँगै अस्पतालले चार लाख ४१ हजारभन्दा बढी फाइल बीमा बोर्डमा पठाइसकेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले बजेट अभावले कर्मचारीको तलब दिनसमेत समस्या उत्पन्न भएको बताए। “साउन महिनाको तलब त कसरी हो खुवायौँ, अब भदौको तलब दिने अवस्था छैन,” उनले भने।

अस्पतालको दैनिक सेवा मात्र होइन, पूर्वाधार विस्तारसम्बन्धी योजनाहरू पनि प्रभावित भएका छन्। बन्दै गरेको ट्रमा सेन्टरको काम बजेट अभावका कारण रोकिएको मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिए।

यस्तो अवस्थामा भरतपुर अस्पतालले सरकारसँग तत्काल रकम निकासा गर्न आग्रह गर्दै आएको छ। तर समयमै भुक्तानी नआउँदा स्वास्थ्य बीमा कार्यक्रमप्रति आम जनताको विश्वास र अस्पतालको सेवा दुवै संकटमा पर्ने जोखिम बढेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij